होमपेज / समाज
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गरेकी छन्। शुक्रबार कलंकीस्थित उक्त कृषिबजारमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले बजारको उद्घाटन गरेकी हुन्। सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले चार सहिदको तस्बिरमा माल्यार्पण गरेकी थिइन्। उनले तत्कालीन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने वीर सहिद तथा सम्पूर्ण सहिदहरुको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताइन्।
‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहितको दीर्घकालीन लक्ष्यलाई पूरा गर्न सरकार लागिरहेको बताउँदै मन्त्री अर्यालले किसानले उत्पादन गरेको वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उनले समृद्ध जीवन बनाउन अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने जोड दिइन्।
कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन्। आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै लैजाने बताइएको छ।