होमपेज / समाज
काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।
यस अवसरमा एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित सालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ ।
नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।
बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।