ट्रेण्डिङ

होमपेज / समाज

रावलको गढमा ओली हावी, अछाममा पूर्व एमालेका अधिकांश अगुवा नेता ओली समूहमा

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १५:१६:३५ मा प्रकाशित

अछाममा पूर्व नेकपा एमालेका अधिकांश पाका नेता नेकपा ओली समूहमा लागेका छन् । नेकपा माधव—प्रचण्ड समूहका नेता भीम रावलसंग असन्तुष्ट उनीहरुले रावलको व्यवहार र कार्यशैलीका कारण नेकपा ओली समूह रोजेको एक नेताले बताए । पूर्व एमालेका प्रभावशाली नेता रावलकै जिल्लामा पूर्व एमालेका अधिकांश अगुवा नेता भने उनकै कारण नेकपा ओली समूहमा लागेको बताईएको छ ।

नेकपा एमालेका प्रभावशाली तथा जिल्लाकै बौद्धिक नेताको छवि बनाएका जिल्ला विकास समिति अछामका पूर्व सभापति कृष्ण प्रसाद जैसीले नेकपा ओली समूहलाई साथ दिएका छन् । उनी नेकपा माधव—प्रचण्ड समूहका नेता रावलद्धारा सधै उपेक्षित र पेलिएका नेता हुन् । त्यही कारण उनी सधै अवसरबाट बञ्चित भएका हुन् ।

तत्कालीन एमाले प्रभावशाली नेता चन्द्र बोहरा पनि ओली समूहमा लागेका छन् । उनलाई ओली समूहले अछामको अध्यक्ष पदको जिम्मेवारी दिएको छ । पार्टी बिभाजनपछि नेकपा एमाले अछामका पूर्व सचिव कमल तिमिल्सेना पनि नेकपा ओली समूहमा लागेका छन् । माध्यामिक विद्यालयको प्रधानअध्यापकबाट राजिनामा दिएर नेकपा एमालेको पूर्णकालीन सदस्य भएका तिमिल्सेना अछामका प्रभावशाली नेताका रुपमा चिनिन्थे ।

अछामबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका शिव उपाध्याय, मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहरा, उपमेयर सरस्वती उपाध्यायले नेकपा ओली समूह रोजेका छन् । अछामको भैसोली क्षेत्रका प्रभावशाली नेता कटक साउँदले नेता रावलप्रति असन्तुष्टि जनाउदै नेकपा ओली समूह रोजेका छन् । माओवादीका थुप्रै प्रभावशाली नेताहरु पनि नेकपा (ओली) मा लागेका छन् । 

माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र बिद्रोहका हस्ती खगेन्द्र रोकाया पनि ओली समूहमा लागेका छन् । माओवादी पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएपनि उनी उपेक्षित थिए । तत्कालनीन माओवादीका तर्फबाट सुदूर पश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहिसकेका झपट बोहराले पनि ओली समूह रोजेका छन् ।

आर्थिक मन्त्री हुदा आफ्नो निर्बाचन क्षेत्र र अछाम जिल्लाका लागि गरेको कामका कारण बोहरा जनता माझ लोकप्रिय छन् । खासगरी रामारोशन क्षेत्रमा बाढी पहिरो जादा बोहराले निर्बाह गरेको भूमिकाको निकै प्रशंसा भएको थियो । अछामका मात्र नभएर कम्युनिष्ट आन्दोलनकै अगुवा मानिने भीम कडायतले पनि ओली समूहलाई साथ दिएका छन् । अछामको कम्युनिष्ट पार्टीको संस्थापक गोकुल खनाल पनि ओली समूहमा लागेका छन् ।

पूर्व मन्त्री बोहराका स्वकीय सचिव रहेका माओवादी पृष्ठभूमिका युवा नेता आदर्श साउँद, कुशलराज बुढाले पनि ओली समूह रोजेका छन् । बुढा ऋषिदह क्षेत्रका प्रभावशाली नेता मानिन्छन । तत्कालीन माओवादीका नेता तथा बिभाजनअघिको नेकपा अछामका सचिव डीबी साउँदले पनि ओली समूहलाई साथ दिएका छन् । 

पूर्व एमाले र माओवादीका प्रभावशाली नेताहरु ओली समूहमा लागेका कारण नेता रावल आफ्नै जिल्लामा कमजोर भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top