होमपेज / समाज
काठमाडौं, ११ माघ कञ्चनपुर, सुनसरी, बारा र रौतहटमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गजरौलास्थित सडकमा सुदूर पश्चिम प्रदेश ०२ ००१ ख १०४५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री कैलाली गोदावरी नगरपालिका-३ बस्ने ५५ वर्षीय सुकलाल चौधरीकको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित सडकमा को.१ स ६४६८ नम्बरको सिटी सफारीलाई ना.८ ख २१५५ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा सिटि सफारी चालक सोही गाउँपालिका-६ बस्ने ३८ वर्षीय दाबुद मन्सुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका दाबुदको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटि सफारीमा सवार कोशी गाउँपालिका-५ बस्ने ३५ वर्षीय ओम प्रकाश मरिकको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, परवानिपुर गाउँपालिका-४ चैनपुरस्थित सडकमा प्रदेश ३-०३-००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारत बस्ने २५ वर्षीय कुन्दन गुप्ताको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका कुन्दनको बयोधा अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट, यमुनामाई गाउँपालिका-४ सरुहठास्थित सडकमा ना.१ ज ४८९५ नम्बरको म्याजिकले ना.५ त ९२८३ नम्बरको ट्याक्टरलाई शनिबार बेलुका ठक्कर दिँदा म्याजिक चालक गरुडा नगरपालिका-९ गम्हरिया बस्ने ३० वर्षीय राजेश कुमार सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजेशको गौर अस्पताल हुँदै थप उपचारको लागि बीरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।