होमपेज / समाज
विराटनगर । सोलुखुम्बु जिल्लाको गिद्धेभीरमा भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु र एकजना गम्भीर घाइते भएका छन्। सुनसरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार सोलुदूध कुण्ड नगरपालिका ११ स्थित गिद्धेभीरमा आइतबार राति भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा बा ४ ख ७९८० नम्बरको टिपरका चालक धादिङका कमल मगर, मकवानपुर बागमति गाउँपालिकाका राजकुमार मगर र सप्तरी सुरुंगा नगरपालिका कृष्णलाल चौधरी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। उनका अनुसार चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एकजना हाइड्रोपावरका कामदार हुन्।
सोलु खोलामा निर्माण सम्पन्न भएको २३.५ मेघावाटको अपर सोलु हाइड्रोपावरका लागि रड र ग्याबिन आसार्दै गरेको अवस्थामा टिपर राति करिब ११ बजे दुर्घटना भएको र तीनजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए। दुर्घटनाका क्रममा टिपर गिद्धेभीरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाई छ।
सोही दुर्घटनामा मकवनपुरको बागमती गाउँपालिकाका रमेश मगर गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते अवस्थाका मगरलाई दुर्घटनास्थलको सडकबाट करिब सय मिटर तल भेटिएको थियो। उनको राति नै उद्धार गरि उपचारका लागि फाप्लु अस्पताल लगिएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए।