होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा पाइने जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाट नै कर्णाली प्रदेशको आर्थिक समृद्धि हुने बताउनुभएको छ । नेपाल सरकारको आह्वानमा मनाइने "राष्ट्रिय योग दिवस, २०७७" को अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश सम्भावनाकाे प्रदेश भएकाे बताउनुभएको छ ।
नेपाल समग्रमा जडीबुटीको धनी देश हो, कर्णाली प्रदेश त खानी कै रूपमा रहेको छ, उहाँले भन्नुभयो, “यहाँ पाइने यार्सागुम्बा, शिलाजित, पखानवेद, चिराइतो, कुमकुम, दालचिनी, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, लेकतितो जस्ता प्रमुख जडीबुटीहरूको, सङ्कलन, प्रशोधन र व्यापार मार्फत यस प्रदेशको समग्र आर्थिक उन्नतिमा विशेष योगदान हुने भएकाले यसमा सबैको ध्यान केन्द्रित गर्न आह्वान गर्दछु ।”
योग र ध्यानका लागि नेपाल पवित्र तपोभूमि रहेको भन्दै यही भूमिमा ऋषिमुनि तथा वैद्यहरूले जप, तप, ध्यानको माध्यमबाट नयाँ ज्ञान प्राप्त गरेको इतिहास रहेको माननीय प्रदेश प्रमुखज्यूले बताउनुभएको छ । योगले शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित योगाभ्यासबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) र अन्य रोगहरू विरुद्ध लड्न मद्दत गर्ने उहाँको भनाई छ ।
प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालको अध्यक्षता भएको तीन दिने योग, ध्यान र जीवनशैली सम्बन्धी शिविर समापन समारोहमा प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सचिव ठाकुरप्रसाद सिग्देल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही, स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का तथा स्वास्थ्य, योग, ध्यान र आयुर्वेदसँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।
.jpg)