होमपेज / समाज
सुर्खेत । नेपालका हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वहरूले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे कर्णाली प्रदेशका प्रमुख गाेविन्दप्रसाद कलाैनीले बताउनु भएकाे छ । हरेक वर्ष माघ १ गते थारू समुदायले मनाउने ‘माघी पर्व’, मगर समुदायले मनाउने ‘माघे सकराती’ पर्व र अन्य समुदायले मनाउने ‘मकर सङ्क्रान्ति’ पर्व तथा नेपाल सरकारको आह्वानमा मनाइने राष्ट्रिय योग दिवस २०७७ को उपलक्ष्यमा सम्पूर्ण कर्णालीबासी दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको लागि हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलाैनीले नेपालका चाडपर्वले नेपालकाे पहिचान विश्वमा चिनाउन सफल भएकाे बताउनुभएकाे हाे ।
शुभकामना सन्देशमा प्रदेश प्रमुख कलाैनीले हाम्रा चाडपर्वहरूले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा योगदान गरेकाे उल्लेख गर्नुभएकाे छ । साथै उहाँले यस्ता चाडपर्वहरूको माध्यमबाट हाम्रो राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बताउनुभएकाे छ ।
"गरौँ योग डटेर, कोभिड जान्छ हटेर" भन्ने मूल नाराको साथ यस वर्षको राष्ट्रिय योग दिवसकाे अवसरमा समेत शुभकामना दिनुहुँदै प्रदेश प्रमुख कलाैनीले योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले नियमित योगबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) विरुद्ध लड्न मद्दत गर्ने विश्वास गर्नुभएकाे छ । प्रदेश प्रमुख कलाेनीले पूर्वीय दर्शनबाट प्रादुर्भाव भएको योग र ध्यानका माध्यमले शरीरलाई विकारमुक्त राखी मानिसलाई स्वस्थ बनाउने कुरा हाम्रा पूर्वजहरूका खोज अनुसन्धान र व्यवहारबाट प्रमाणित भईसकेको उल्लेख गर्दै यसलाई आधुनिक चिकित्सा पद्धतिले पनि स्वीकार गरिसकेको बताउनु भएकाे छ ।
