ट्रेण्डिङ

होमपेज / समाज

‘गलत माग र कार्यमा सम्झौता गर्दैनौं’ – उपकुलपति प्राडा सिंह

जायज मागलाई वार्तामार्फत समस्या समाधान गरिने

नेपालगाथा डेस्क २०७७ पौष २७ गते सोमबार १२:०९:१३ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयमा कुनै पनि खालका गलत माग र गलत कार्यमा कहिल्यैं पनि सम्झौता नगरिने बताउनुभएको छ । विश्वविद्यालयको पछिल्लो गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सोमबार गरिएको जुम अनलाईन पत्रकार सम्मेलनमा उपकुलपति प्राडा सिंहले यस्तो बताउनुभएको हो ।  आइतबार बेलुका विश्वविद्यालयमा भएको घटनाको बारेमा जानकारी दिँदै उपकुलपति प्राडा सिंहले केही व्यक्तिको गलत मनसायले विश्वविद्यालयको गुणस्तरमा असर पुग्ने गरी विद्यार्थीले माग गरेकाले उनीहरुको माग सम्बोधन गर्न नसकिएको बताउनुभयो । साथै उहाँले विश्वविद्यालयमा कुनै पनि गलत क्रियाकलाप नगर्न र नगराउनसमेत सचेत गराउनुभयो । 

परीक्षा व्यवस्थापन कार्यालयसँग सम्बन्धित माग परीक्षा व्यवस्थापन कार्यालयमा नै गएर राख्नुपर्नेमा विद्यार्थीहरु उपकुलपतिको कार्यालय घेर्न आउनु नै गलत भएको उपकुलपतिको भनाई छ । जुन समस्या जहाँ छ त्यहाँ नै समाधान हुनुपर्छ, तर कुनै पनि सानो तिनो मागका लागि रजिष्ट्रार र उपकुलपतिसमक्ष आउनु नै गलत पक्रिया भएको उपकुलपतिले बताउनुभयो । 

आन्दोलनकारीको ढुंगाबाट झण्डै ज्यान जोखिममा 

आइतबार बेलुका करिब ७ बजेतिर उपकुलपतिको कार्यकक्षमा आन्दोलनकारी विद्यार्थीले हानेको ढुंगाले उपकुलपतिको कार्यकक्षको झ्यालको सिसा फुटेको छ । उक्त ढुंगा झ्यालमा लगाएको फलमाको सरिबाट भित्र छिरेको भए आफ्नो ज्यान नै जोखिममा पर्न सक्ने भन्दै उपकुलपतिले यस्तो कार्यमा संलग्नहरुलाई नियमानुसार कारबाही गरिने बताउनुभयो । विश्वविद्यालयका सबै खालका समस्या समाधान गर्नका लागि समस्या समाधान समिति बनेकाले कुनै पनि समस्याहरु समाधान समितिमार्फत हल हुने जानकारी दिँदै उपकुलपति प्राडा सिंहले आइतबार विद्यार्थीले हुलदंगा गरिरहेकाले सुरक्षा रणनीतिका आधारमा आन्दोलनकारी विद्यार्थी भएको ठाउँमा जान सक्ने वातावरण नभएपछि विद्यार्थीलाई भेट्न नसकिएको जानकारी दिनुभयो ।

ढुंगा, मुढा गर्ने विद्यार्थी उदण्ड

इन्जिनियर अध्ययन गर्ने विद्यार्थीलाई अध्ययन गर्ने फुर्सद नै नहुने बताउँदै उपकुलपति प्राडा सिंहले आन्दोलन र ढुंगा, मुढा गर्ने विद्यार्थीहरु उदण्ड भएको बताउनुभयो । उनीहरुलाई कसैले प्रायोजन गरेको बताउँदै उपकुलपतिले कोभिड महामारीको विशेष परिस्थितिमा अनलाइन परीक्षा लिएको भए पनि विद्यार्थीले फेरि पनि अनलाईन परीक्षा लिनु पर्ने भनि राखेको माग जायज नभएको बताउनुभयो ।

साथै उहाँले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर बिग्रने गरी परीक्षा रिटेक लिने कार्य समेत गर्न नसकिने बताउनुभयो । कोभिडको विशेष परिस्थितिमा अनलाइन अध्ययन र परीक्षा भए पनि कोभिडको परिस्थिति सामान्य भए पछि अब विश्वविद्यालयका सबै क्रियाकलाप भौतिक रुपमा नै भइरहेको उपकुलपति प्राडा सिंहले जानकारी दिनुभयो ।

उदण्ड विद्यार्थीलाई निष्कासन सम्मको कारबाही

अध्ययन र अध्यापन गराउने थलोलाई आन्दोलन र ढुंगा, मढा बर्षाउने थलो बनाउन थालेपछि उपकुलपति प्राडा सिंहले उदण्ड विद्यार्थीलाई विश्वविद्यालयबाट निष्कासन सम्मको कारबाही गरिने बताउनुभएको छ । विद्यार्थी अध्ययन अध्यापन नभई गलत कार्यमा लागेमा कारबाहीका विभिन्न चरणहरु पार गर्दै अन्तिममा विश्वविद्यालयबाट नै निष्कासनसम्मको कारबाही गरिने उहाँले बताउनुभयो ।

दोहोरो काम गर्ने शिक्षक तथा कर्मचारी पनि कारबाहीको दायरामा

मप विश्वविद्यालयमा जागिर खाएर बाहिर काम गर्ने शिक्षक तथा कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउने उपकुलपति प्राडा सिंहले पत्रकार सम्मेलनमा बताउनुभएको छ । खास गरी मप विश्वविद्यालयमा जागिर खाने तर निजी कलेजमा विद्यार्थी तान्ने प्रवृत्ति प्रति आक्रोशित बन्नुभएका उपकुलपति प्राडा सिंहले त्यस्तो कार्यमा संलग्नहरुलाई विश्वविद्यालय वा बाहिरको कलेज मध्ये एउटा रोज्न समेत आग्रह गर्नुभयो । यदि त्यसो नभएमा निमानुसार कारबाही गरिने समेत उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

हाम्रो विश्वविद्यालयलाई राम्रो विश्वविद्यालय बनाउन सबै समक्ष आग्रह

वौद्धिकहरुको जमात र भविष्य निर्माण गर्ने विश्वविद्यालयमा भइरहेका आन्दोलन र घृणित क्रियाकलाप प्रति चिन्तित देखिनुभएका उपकुलपति प्राडा सिंहले जनताको खुन र पसिनाबाट बनेको विश्वविद्यालयलाई राम्रो बनाउन आफू चिन्तित र लागिपरेकाले सबै वर्ग र क्षेत्रका महानुभावहरुलाई विश्वविद्यालय बनाउने अभियानमा ऐक्यवद्धता जनाउन आग्रह गर्नुभयो । 

केही निश्चित तथ्वहरु विश्वविद्यालयमा ‘धमिलो पानीमा माछा मार्ने’ खेलमा लागेको बताउँदै उपकुलपति प्राडा सिंहले सम्पूर्ण महानुभाव, नागरिक समाज, पत्रकार तथा वुद्धिजिविहरुलाई विश्वविद्यालयको गरिमा बचाउन र गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोका रुपमा विकास गर्नका लागि साथ दिन अनुरोध गर्नुभयो । 

ज्ञापनपत्र बुझाउने क्रममा तीन विद्यार्थी घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मौका परीक्षा दिन पाउनुपर्ने माग राख्दै इन्जिनियरिङ संकायका विद्यार्थीहरुले आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसमक्ष ज्ञापनपत्र बुझाउने क्रममा  विद्यार्थी र प्रहरीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् । उपकुलपति सिंहलाई जबर्जस्ती ज्ञापनपत्र बुझाउन खोज्‍दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै लाठीचार्ज गर्दा तीन जना विद्यार्थी घाइते भएका हुन् । 

विश्वविद्यालयका उपकुलपतिले माग सम्बोधनका लागि ज्ञापनपत्र बुझ्नै नमानेको भन्दै विद्यार्थी आक्रोशित भएका थिए । उपकुलपति सिंह कार्यकक्षबाट निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले बताए । विद्यार्थीहरू दिउँसोदेखि नै विश्वविद्यालयको गेटमा अवरोध गरेर बसेका र जति अनुरोध गर्दा पनि हट्‌ने नमानेपछि बाध्य भएर बल प्रयोग गर्नु परेको भट्टको भनाई छ ।

एमयूमा नेविसंघद्वारा आन्दोलन 

आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएपछि नेविसंघले विभिन्न माग राख्दै आन्दोलन गरिरहेको छ । परिक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा आईतबार सांझ स्थिति नियन्त्रणमा लिदा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्षमण वोगटी घाइते भएका थिए ।

साेमबार बिहानदेखि विद्यार्थीहरुले केन्द्रीय क्यामपस मुलगेट अगाडि आन्दोलन गरिहरेका छन् । उनिहरुले विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड्रो ईन्जिनियरलाई दर्ता गराउनुपर्ने, मौका परीक्षाको व्यवस्था गर्नु पर्ने लगायतका माग राखिएको आन्दाेलनकारीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top