ट्रेण्डिङ

होमपेज / समाज

छाडा चौपाया हुम्ला पठाइँदै

नेपालगाथा २०७७ पौष २५ गते शनिबार ०९:२६:३९ मा प्रकाशित

कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ । छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो ।

अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो । नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो । नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि शुक्रबार १०० पशु चौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फ पठाएको जानकारी दिए ।

त्यहाँको कृषि फर्मले गाई तथा गोरु उपलब्ध गराइदिन नगरपालिकासँग लिखित अनुरोध गरेपछि पठाइएको उनको भनाइ छ । उपशाखा प्रमुख गिरीले बाँकी चौपाया क्रमशः मागका आधारमा पठाउने गरी समन्वय भइरहेको बताए वीरेन्द्रनगरका सडकमा करीब ५०० छाडा पशु चौपाया रहेको तथ्याङ्क छ ।

छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधनलाई आउजाउमा समस्या हुने गरेको छ । कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top