होमपेज / समाज
मकवानपुर। हेटौँडा उपमहानगरपालिकामा कोरोना सङ्क्रमण परीक्षणको नयाँ विधि आजदेखि शुरु भएको छ। पीसीआरको सट्टा एन्टिजेन परीक्षणको विधिमार्फत कोरोना सङ्क्रमणको परीक्षण शुरु भएको बताइएको छ। हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइका अनुसार पिसिआर परीक्षणका लागि भिटिएम पनि सकिएको र यो नयाँ विधि आएकाले यसलाई आधारिकता दिएर कोरोना सङ्क्रमण परीक्षण शुरु गरिएको जानकारी दिए।
कोरोना सङ्क्रमण परीक्षणका लागि नेपालमा दुई विधि स्वीकृत भएको छ। जसमा पहिलो पिसिआर तथा दोस्रो एन्टिजेन परीक्षण विधि रहेको बताइएको छ। एन्टिजेन विधिबाट परीक्षणका लागि बिहान तथा दिउँसो गरी दुईपटक जाँचको व्यवस्था गरिएको छ।यो विधिबाट अहिले तत्काल तीन हजार जनाको परीक्षण गर्ने गरी सामग्री आएको उनले जानकारी दिए।
कोरोना जाँचका लागि पिसिआर परीक्षण जस्तै एन्टिजेन परीक्षण पनि नाकबाट स्वाब निकालेर गरिन्छ।यस विधिबाट कोरोनाको सक्रिय सङ्क्रमित पत्ता लगाउन निःशुल्क परीक्षण गरिन्छ। सक्रिय सङ्क्रमितको पहिचान हुन नसक्दा थप सङ्क्रमित बढ्न सक्ने प्रक्षेपण भएकाले सरकारले उक्त नीति राखेको उनले भने।पीसीआर परीक्षण गर्दा नतिजा ढिलो हुने तथा खर्च बढी लाग्ने भएकाले एन्टिजेन परीक्षण विधिमा जोड दिइएको हो ।