होमपेज / समाज
काठमाडौं, ११ पुस सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-८ रनेम बस्ने नौ बहादुर राईको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
महोत्तरी, मटिहानी नगरपालिका-४ मझौरा बस्ने हरि यादवको घरमा बालेको घुरबाट शुक्रबार साँझ आगलागी हुँदा नगद तथा विभिन्न सामानहरु जलेर करिब ३ लाख ८९ हजार
रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका-२ महेन्द्रचोक बस्ने किशोर कुमार पासवानको कस्मेटिक तथा फोटो स्टुडियोमा बिजुली सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिरहा, बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने ७० वर्षीय नथुनी मुखियाको फुसको छाना भएको घरमा खाना पकाउने क्रममा शुक्रबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने ३५ वर्षीय जगबीर मुखियाको जस्ताको घरमा समेत आगलागी भई नगद र विभिन्न सामानहरू समेत जलेर करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।