होमपेज / समाज
काठमाडौँ । पहाडी क्षेत्रमा शुक्रबार आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम केही प्रभावित हुने देखिएको हो । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । तर तराई र पहाडका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।
शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यसैगरी राति प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । यसैबिच चिसो रहिरहने तथा तराई र पहाडि भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।