होमपेज / समाज
जनकपुरधाम । प्रदेश भित्र रहेको वन, वन्यजन्तु, वनस्पति, जलाधार तथा नदीजन्य पदार्थको संरक्षणको लागि बनाइएको विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्। प्रदेश-२ को प्रदेशसभाबाट पारीत भएर प्रदेश प्रमुख समक्ष पुगेको विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेसँगै यो ऐन बनेको छ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरण गरेका छन् । यस सँगै हालसम्म ३६ वटा विधेयक प्रदेशसभाबाट पारित भएपछि प्रमाणिकरण भएर ऐत बनेको छ। प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले प्रदेशसभाको २०७७ असोज २७ गते बसेको चौथो अधिवेशनको ३४ औं बैठकमा प्रदेश २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए।
यो ऐन बनेपछि प्रदेश सरकारले प्रदेशभित्रको राष्ट्रिय वनको व्यवस्थापनका लागि आवश्यकता अनुसार वनको वर्गाीकरण गर्न सक्नेछ र त्यसरी वर्गीकरण भइसकेपछि एउटा प्रयोजनको लागि वर्गीकरण गरिएको प्रदेशभित्रको राष्ट्रिय वन प्रदेश सरकारको अनुमतिबिना अर्को प्रयोजनको लागि उपयोग गर्न पाइने छैन।