ट्रेण्डिङ

होमपेज / समाज

विश्वविद्यालयमा उपप्राध्यापक तथा सहप्राध्यापक नियुक्तिका उमेरको हदबन्दी लगाउन नहुने

नेपालगाथा २०७७ पौष १ गते बुधबार १४:३६:४७ मा प्रकाशित

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयमा अध्यापन गर्ने उपप्राध्यापक तथा सहप्राध्यापक नियुक्तिका उमेरको हदबन्दी लगाउन नहुने बताएका छन् । काठमाडौंमा विश्वबिद्यालयकोे १० औं सिनेटपछि मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यसका लागि पचास वर्ष उमेर तोकिएको जानकारी दिए । ‘विश्वविद्यालयमा जागिर खान र पेन्सन खानका लागि प्राध्यापक आउने होइन ।

यहाँ आउनुको कारण ज्ञान बाँड्नु हो,’ उपकुलपति सिंहले भने । कतिपय देशमा ७८ वर्षका व्यक्तिले पनि अध्यापन गराइरहेका भन्दै र नेपालका ६० वर्ष भन्दा माथिका प्राध्यापकले पनि विश्वका विभिन्न विश्वविद्यालयमा ज्ञान, अनुभव बाँडिरहेको उदाहरण दिए ।काठमाडौंमा सिनेटको आयोजना गर्नुको कारण प्रष्ट पार्दै उपकुलपति सिंहले अन्य विश्वविद्यालयले पनि काठमाडौंमा नै सिनेटको आयोजना गरेको, राजनीतिक वातावरण पृथक भएका कारण सुर्खेतमा नगरिएको बताए ।

उपकुलपति सिंहले विश्वविद्यालयको सम्पत्तिको सुरक्षा गर्नका लागि पूर्व सैनिक तथा प्रहरीबाट भर्ना लिने गरी आफ्नै सुरक्षा दस्ता गठन गर्ने निर्णय गरिएको बताए । ‘विश्वविद्यालयमा गाँजा खाने, हुलहुज्जत गर्ने, गैर विद्यार्थी आउने, तोडफोड, आगजनी गर्ने कार्यहरु भइरहेका छन्, त्यसको निरुपण गर्नका लागि हामी आफ्नै सुरक्षा दस्ता गठन गर्छौं यो नेपालमा पहिलो हो । भारतका विभिन्न विश्वविद्यालयले यो अभ्यास गरिरहेका छन्,’ उनले भने ।

उनले आगामी दिनमा विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी सिर्जना गर्नका लागि ६० प्रतिशत प्रयोगात्मक तथा ४० प्रतिशत सैद्धान्तिक ज्ञान प्रणालीको पाठ्यक्रम तयार गर्ने नीति लिएको बताए । त्यसो गर्दा कर्णालीको आवश्यकता अनुसार तयार हुने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top