होमपेज / समाज
काठमाडौं । हेटौंडा–नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
राति साढे १० बजे सडकमा रोकिराखेको ना ८ ख ५३३७ नम्बर ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन्।
त्यस्तै, मंगलबार राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा हेटौँडा उपमहानगरपालिका–१५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका–५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइते तीनै जना मजदुर हुन्।
भीमफेदी गाउँपलिका–६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुङ्गा लोड गरी हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ६९२७ नम्बरको टिपर सडकबाट करिब ३० मिटर तल खसेको प्रवक्ता रानाले जानकारी दिए। उनका अनुसार सो दुर्घटनामा परी घाइते भएकामध्ये हेटौंडाका मोक्तान गम्भीर घाइते भएका छन्। घाइते सबैको भीमफेदी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि हेटौंडा–११ थानाभ¥याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। मकवानपुर प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घटनामा परी मृत्यु हुनेमा कैलालीका ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन्।
यसैगरी घाइते हुनेहरुमा बैतडी पाटन नगरपालिकाका २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीतालका ३० वर्षीय डम्मर साउद रहेका छन्। घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ। गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिपर मंगलबार राति दुर्घटनामा परेको हो। टिपर सडकबाट कम्तीमा पनि ५०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ। रासस ।