होमपेज / समाज
काठमाडाैं । १७औं भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार हरिबहादुर थापाले भ्रष्टाचार विरुद्धको दृश्य बदल्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गोगो फाउण्डेसन र सोच नेपालले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा भ्रष्टाचार विरुद्धको कार्यपत्र प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
पत्रकार हरिबहादुर थापा विगत लामो समयदेखि भ्रष्टाचार विरुद्धमा कलम चलाउदै आउनुभएको छ । कार्यपत्र प्रस्तुत गर्दै पत्रकार थापाले भ्रष्टाचार निवारणका लागि अथाह कानुन छ तर यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि इच्छा शक्तिको अभाव रहको बताउनुभयो ।
विगतमा नागरिक समाजको सक्रिय भूमिका भएकै कारण भ्रष्टाचार विरुद्धको कानुन पारित भएको बताउँदै पत्रकार थापाले पछिल्लो समय नागरिक समाज पनि टुट, फुट र गुटमा लागेकाले भ्रष्टाचार विरुद्धको अभियान पनि निष्क्रिय भएको बताउनुभयो । पत्रकार थापाले संघीय संरचना निर्माण भएपछि देशमा ७६१ वटा सरकार भएकाले अहिले अहिले कानुन बनाउने र कार्यान्वयन गर्ने निकाय पनि ७६१ नै भएको बताउनुभयो ।
संसद भवनमा व्यवस्थापिका संसद्को भूमिका पनि निष्क्रिय हुनुका साथै संसदीय समितिले पनि प्रभावकारी भूमिका खेल्न नसकेकाले भ्रष्टाचार विरुद्धको अभियान कमजोर बन्दै गएको पत्रकार थापाको बुझाइ रहेको छ । विगतमा संसदीय समिति र अख्तियार सक्रिय हुँदा नेपालमा भ्रष्टाचारको दर घटेको थियो तर अहिले त्यो अवस्था नभएको बताउँदै पत्रकार थापाले दलको मौनता संस्कृतिका कारण पनि भ्रष्टाचार मौलाइरहेको विश्लेषण गर्नुभयो ।