होमपेज / समाज
जनकबहादुर शाही, हुम्ला। आइतबार (आज) हुम्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमकोट बिमानस्थल सुरक्षाका लागि खटिएका एक जना महिला प्रहरीलाई मंसिर १८ गते कोरोना पुष्टि भएपछि बिमानस्थल सुरक्षामा खटिएका अन्य १२ जना सुरक्षाकर्मीको १९ गते स्वाब संकलन गरी पीसिआर परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।
उनीहरु १२ जनामध्ये ११ जनाको कोरोना पोजेटिभ र १ जनाको मात्र नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको हो । योसँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ ।कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका बिद्यालहरु पुनः बन्द गरिएको छ ।
स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्यौलता छाएको सिमकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । स्वास्थ्य सेवा कार्यालय हुम्लाका अनुसार अहिलेसम्म ६७ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट बिमानस्थलमा रहेको सुरक्षा गार्ड क्वाटरमा होमआइसोलेसनमा बसेका जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहोराले बताइन् ।