ट्रेण्डिङ

होमपेज / समाज

‘म २१औं शताब्दीको भ्रष्टाचार विरुद्धको कोरोना भाइरस हुँ’ – उपकुलपति प्राडा सिंह

नेपालगाथा डेस्क २०७७ भाद्र ३० गते मंगलबार ०१:२२:३७ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले आफू २१औं शताब्दीको भ्रष्टाचार विरुद्धको कोरोना भाइरस भएको बताउनु भएको छ । विश्वविद्यालय बनाउन सुर्खेत आएदेखि रातदिन खटिएर लागिरहनुभएका उपकुलपति प्राडा सिंहले शैक्षिक क्षेत्रको एक अनलाइन एडुसञ्जालको कार्यक्रम एडु टकसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । 
कोरोना भाइरसको महामारीमा समेत बच्दै र बचाउँदै उपकुलपति प्राडा सिंह रातदिन विश्वविद्यालमा आफुले देखेको भिजन पूरा गर्न निरन्तर लागिरहनुभएको छ । 

एडु टकमा उपकुलपति प्राडा सिंहले मप विश्वविद्यालय बनाउन प्रस्तुत गर्नुभएका महत्वपूर्ण विचारहरु 


सुर्खेत एउटा सुन्दर शहर हो । १२औं, १३औं शताब्दीमा सिल्क रोडको एउटा अन्तर्राष्ट्रिय व्यापार केन्द्र पनि हो सुर्खेत । त्यतिवेला यहाँ वौद्धिक छलफल हुने गर्दथ्यो । आज पनि यो वौद्धिक छलफल हुने ठाउँमा विश्वविद्यालय बनेको छ । फेरि पनि २१औं शताब्दीको वौद्धिक केन्द्र बनेको छ सुर्खेत । यसबीचमा कोरोना कहर छदैछ, हामी बाँचेर कोभिडका विरुद्धको लडाइ लड्दै शैक्षिक क्षेत्रको समृद्धिका लागि अघि बढिरहेका छौं । सुर्खेत अहिले कर्णाली प्रदेशको राजधानी हो । हामीले कर्णाली प्रदेशको राजधानीमा बसेर देशको विकासलाई अगाडि बढाइरहेका छौं । 
नेपालको इतिहासमा १९९० पछि खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति चुनिने अवसर प्राप्त भएको थिएन । तर सौभाग्यको कुरा भन्नुपर्छ, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यो अवसर मलाई प्रदान गर्नुभयो । अहिलेको शिक्षा मन्त्रीले पनि यो कुरालाई अगाडि बढाउनुभयो । म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र माननीय शिक्षा मन्त्री गिरीराजमणि पोखरेलप्रति कृतज्ञता ज्ञापन गर्छु । 
विशेष गरेर सम्माननीय प्रधानमन्त्री ज्यूले दुईवटा कुरामा जोड दिनुभएको थियो । उक्त दुईवटा कुरामा क्वालिफिकेसन र स्पेसलाइजेसन रहेका थिए । कुनै पनि व्यक्तिको विशेषज्ञता भनेको उसको विशिष्टिकरण हो । ऊ कुन विषयमा दक्ष छ, त्यसका आधारमा योग्य मानिस छान्नुपर्छ भनेर खुल्ला विज्ञापन भएको थियो । उक्त विज्ञापनमा मैले सहभागिता किन नगर्ने भन्ने मलाइ लागेपछि एक हप्ताको समयभित्र मैले भिजन पेपर तयार पारे ।

‘ह्वाइ डु आई वान्ट टु बी द भाइस चान्सलर अफ मिड वेस्टर्न युनिभर्सिटी’
‘ह्वाइ डु आई वान्ट टु बी द भाइस चान्सलर अफ मिड वेस्टर्न युनिभर्सिटी’ भन्ने लागेपछि मैले एउटा इन्टेग्रेटेड भिजन पेपर पेस गरे । त्यो भिजन पेपरमा मैले पाँचवटा कुरा राखेको छु ।

१) कुनै पनि विश्वविद्यालयका लागि योग्य नेतृत्व बन्नका लागि शैक्षिक समन्वय आवश्यक पर्दछ । 
२) अहिले हाम्रा विद्यार्थीहरु जो बजारमा जान्छन् बजारको माग अनुसार पाठ्यक्रम बनेको पाइदैन त्यसैले सम्पूर्ण पाठ्यक्रमको पुर्नसंरचना नभएर पुर्नढाँचा तयार पार्नुपर्छ । यसरी तयार पारिएको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तर, राष्ट्रिय र स्थानीय स्रोतका आधारमा तयार पार्नुपर्छ । 
३) विश्वविद्यालय विश्वव्यापी हुने भएकाले यहाँ आउने प्रोफेसर र विद्यार्थी राष्ट्रियस्तरका मात्र नभएर अन्तर्राष्ट्रियस्तरको सहयोग र समन्वयमा साटासाट हुनुपर्छ जसले गर्दा प्रोफेसर र विद्यार्थीबीचको ज्ञान एकआपसमा साटासाट हुने गर्दछ । 
४) नेपालका विश्वविद्यालयहरु सरकारी विश्वविद्यालय भएपछि सबै पैसा सरकारले दिने र बिल मिलाएर मात्रै खाने वा सरकारले दिएको पैसाको भरमा मात्र बाँच्ने भएकाले प्रोफेसर र कर्मचारी तलब खाएर मात्र बस्ने गरेका छन् । विद्यार्थीको शुल्कबाट आएको पैसाले जिन्दगी चलाउनुपर्ने प्रचलनको विरुद्धमा म छु । म चाहन्छु प्रत्येक विश्वविद्यालयले २१औं शताब्दीको योग्य विश्वविद्यालय बनाउने हो भने विश्वविद्यालयको आफ्नो स्रोत छ, त्यो स्रोतलाई परिचालन गर्दै धेरै प्रकारका आम्दानी गर्न सक्नुपर्छ । आफूसँग भएको स्रोतलाई परिचालन गरेर धनी बन्न सक्नुपर्छ । 
५) पूर्वाधारको विकास महत्वपूर्ण हुन्छ । विश्वविद्यालयमा पूर्वाधार भएन भने विद्यार्थीका कक्षाहरु अन्तर्राष्ट्रियस्तरका हुन सक्दैनन् । सम्मेलन गर्ने हलहरु हुनुपर्छ । कर्णाली प्रदेश जस्तो गरिबका छोराछोरी अध्ययन गर्न आउने अनुभवहिन विद्यार्थीहरु बस्ने बासस्थानका लागि पूर्वाधार महत्वपूर्ण रहेको छ । 

मैले यी पाँचवटा कुरा पूरा गर्नका लागि 3S र Grounded Theory (GT) लाई अगाडि सारेको छु । 3S भन्नाले Situation Analysis, Solution Initiative and Solving Mechanism हुन् । यी अन्तर्गत पाँच/पाँच वटा बुँदाहरु राखेर सिस्टमेटिक सुक्ष्म तहको भिजन पेस गरे । जुन भिजन म विश्वविद्यालयमा आएपछि तीन महिनाको समयमा अध्ययन अनुसन्धान गरी इन्टेरिअर डिजाइन दिएर इन्टेग्रेटेड भिजन तयार गरिसकेको छु । यो लागू गर्नका लागि मैले साढे दुई वर्षको समयावधि राखेको छु । म चार वर्ष पर्खिनेवाला छैन । 
सम्माननीय प्रधानमन्त्रीले जे जिम्मेवारी दिनुभएको छ त्यही अनुसार सकेसम्म छिटै नभए पनि साढे दुई वर्षमा जिम्मेवारी पूरा गरेर करोडौ रुपैयाँ कमाउने विश्वविद्यालयको रुपमा स्थापित गर्न चाहन्छु । R & D (Research and Development) को केन्द्र बनाउन चाहन्छु । 


शुन्य सहनशीलताको विश्वविद्यालय
म जन्मेको ज्ञान हासिल गर्नका लागि हो । म मृत्यु वरण गर्दा मैले आर्जन गरेको ज्ञान समाजलाई छोड्न चाहन्छु । राष्ट्रलाई त्यसको गुन लगाएर जान चाहन्छु । हामी जन्मेदेखि यो ठाउँसम्म आउँदा ज्ञानका लागि संघर्ष गरेका छौं । उपकुलपति भएपछि भ्रष्टाचारमा लाग्ने हो भने जिन्दगीको के अर्थ छ ? मलाई यो राम्रोसँग थाहा छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार विरुद्धको लडाई हो । उहाँका सन्तान छैनन् । सन्तान नहुँदा यो देशका लागि उहाँले जसरी काम गर्नुभएको छ त्यसले मलाई ठूलो प्रेरणा दिएको छ । कुनै पनि देशको शासन चलाउनका लागि गुड गभर्नेन्स छ या छैन भन्नका लागि त्यसका धेरै पिलरहरु हुन सक्छन् । सुशासनका धेरै खम्बाहरु छन् । ती मध्ये दुईवटा पिलर महत्वपूर्ण रहेका छन् । पहिलो भनेको शुन्य सहनशीलता (Zero Tolerance) र दोस्रो भनेको पारदर्शीता (Transparency) हो । यसको अलवा इफेक्टिभ र इफिसिएन्सी प्रशासन त छदैछ, रेस्पोन्सबिलिट र एकान्टबिलिटी पनि आवश्यक छ । तर पनि मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आउँदा दुईवटा कुरा Zero Tolerance against Corruption (भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता) र Transparency (पारदर्शीता) लाई जोड दिएको छु । मैले के गरे भन्ने कुरा जनताले थाहा पाउनुपर्दछ । नेपालको संविधानले जनताले जान्ने अधिकारलाई सुरक्षित गरिदिएको छ । विद्यार्थी, कर्मचारी र यहाँका जनताले थाहा पाउनुपर्दछ । आफुले नखाएर रुपैयाँ जोगाएर जसले डोनेसन गर्नुभएको छ, ती सुर्खेती जनताले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको हरेक गतिविधि थाहा पाउनुपर्छ । 
मध्यपश्चिमाञ्चल विश्वविद्यालय १० वर्ष पूरा भएर ११औं वर्षमा प्रवेश गरिरहेको छ । यो बीचमा करिब ३५ करोड रुपैयाँ बेरुजु छ । महालेखा परीक्षकले निकालेको रिपोर्टका अनुसार एकवर्षमा करिब ४० करोड बेरुजु छ । यो दुइवटै लाई जोड्नेहो भने करिब ७५ करोड बेरुजु भनेको मेरो लागि निकै दुःखको कुरा हो । एक वर्षमै करिब ४० करोड बेरुजु आउँदा केही रनिङ बिल होला, म त्यसलाई बुझ्दछु । तर पनि ३५/४० करोड बेरुजु आउनु भनेको ११ वर्षको बच्चा भएको विश्वविद्यालयका लागि दुर्भाग्यपूर्ण कुरा हो । 
पहिलो उपकुलपतिदेखि मसमेत आउँदा धेरै उपकुलपतिहरु र रजिष्ट्रारका बीचमा लडाइ भयो । अख्तियारबाट कैयौं छापा मार्ने काम भयो । यो सबै दुर्भाग्यपूर्ण कुरा हो । संसारमा जसले शिक्षा दिन्छ, जसले नमुना शिक्षा प्रदान गर्दछ, जसको नेतृत्वमा बस्ने मानिस रोल मोडेल हुन्छ त्यो नै भ्रष्टाचारमा लाग्यो भने देश के होला ? कल्पना गर्नुस् त ? यसको बारेमा म धेरै बोल्न चाहन्न किनभने अख्तियारले छानबिन गरिरहेको छ, धेरै ठाउँमा मुद्दा परेका छन् । हिजो जजसले जहाँ जति गल्ति गर्नुभयो त्यो उहाँले स्वीकार गर्नुहोला त्यो आफ्नो ठाउँमा छ । मैले बुझेको कुरा के हो भने मेरो जीवन कहिल्यै पनि भ्रष्टाचारको पक्षमा रहेन । म बरु भोकै मर्न तयारी छु, मागेर खान तयारी छु तर सम्माननीय प्रधानमन्त्री ज्यूले दिनुभएको जुन जिम्मेवारी छ त्यो पूरा गरेरै छाड्छु । नेपाली जनता निराश भएको अवस्थामा शिक्षा क्षेत्रलाई प्रगति गर्न सकिन्छ भनेर देखाउन चाहन्छु ।
उपकुलपति इमान्दार भयो भने विश्वविद्यालय बन्छ भन्ने सन्देश दिन चाहन्छु । यसका लागि म कसैसँग सम्झौता गर्दिन । म जहिले पनि इमान्दारितालाई साथमा साथ लिएर जान्छु । मैले धेरै खालका गलत खर्चहरुलाई कटौती गरेको छु । जहाँ जहाँ अनियमितता हुन्छ त्यहाँ मैले बन्द गरेको छु । मलाई लाग्छ अब एक डेढ वर्षभित्र विश्वविद्यालयको तुलना गर्दा सुशासन र पारदर्शीताको सुरुवात विश्वविद्यालयबाट भयो कि भएन भनेर तपाइहरुले सहजै फरक पाउनुहुनेछ । 


असम्भव केही पनि छैन 
विश्वमा नै संकट पैदा भइरहेको वेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मैले प्रस्तुत गरेका भिजन कार्यान्वयन गर्न सम्भव छ त भन्ने लाग्न सक्ला । तर म एउटै कुरा भन्छु असम्भव भन्ने कुरा नै छैन । तपाई आफुमात्र इमान्दार भए पुग्छ । २४ सै घण्टा सपना देख्नुस् र २४सै घण्टा त्यसका पक्षमा लाग्नुस् । संसारमा तपाइलाई रोक्ने कुनै वस्तु हुनेछैन । यो मेरो पहिलो दृढ निश्चय हो । त्यसका लागि तपाइसँग भएको भिजनलाई अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय सबैसँग मिलाएर लैजानुपर्छ । 
मैले सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यू, राष्ट्रिय विभिन्न दलका नेता र माननीयज्यूहरुसँग, प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुसँग, स्थानीय तहका सरहकारहरुसँग, यहाँका डोनरहरुसँग र स्थानीय जनतासँग, नागरिक समाजसँग मैले इमान्दारितापूर्वक वार्तालाप शुरु गरेको छु । विश्वविद्यालयको उन्नतिका लागि, प्रगतिका लागि । धेरै मानिसहरु अहिले उत्प्रेरित छन् । उहाँहरुको चाहना अब विश्वविद्यालय बन्छ भन्ने छ । उहाँहरुमा एक खालको आशा जागेको छ । 
हिजो विश्वविद्यालयलाई पैसा दिने मानिस निराश थिए, अब हामी पैसा दिन्नौ भन्नेहरु अब विश्वविद्यालय बन्ने संकेत देखियो पैसा दिन्छौ भन्ने मानिसहरु मैले भेटिराखेको छु । त्यसैले मलाई के लाग्छ भने स्रोतको कमी हुन्न । विचार र भिजन भयो भने मानिसले नखाएरै भए पनि विश्वविद्यालयका लागि पैसा दिन तयार हुन्छन् । 
मैले कर्णालीका गरिब जनताको विश्वविद्यालयप्रतिको माया र मोह बुझेको छु । मैले कर्णालीका जनताको रगत, पसिना र आँशुको मूल्य बुझेको छु । म एक रुपैयाँ भ्रष्टाचार गर्दिन र गर्नेलाई छोड्दिन । त्यसकारण मैले भनेको छु, 'I am the corona virus of the 21st century to fight against the corruption and nobody will be left out' यो नारा मैले म बस्ने कुर्चिको माथि राखेको छु । मेरो दायाँ र बायाँमा सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखेको छु । यसबाट बुझ्नुस् म भ्रष्टाचार गर्छु कि गर्दिन । म पूरा गरेर छोड्छु । म संसारको धेरै कनेक्टिभिटीलाई पनि प्रयोग गर्छु । प्रतिवद्धता र इमान्दारिताको समस्या हो । म देखिने गरी काम गरेर छाड्छु । यो देशका धेरै विद्वानहरुलाई, युवा पंक्तिलाई, धेरै मानिसलाई देश बनाउनुपर्छ भन्ने कुरा मनमा आउनेछ । 
साउथ अफ्रिका, इजरायल, सिंगापुर, अमेरिका, चिन त्यसै बनेको होइनन्, म यत्ति भन्छु, हामी इमान्दार हुनुपर्छ । राजनेता त इमान्दार हुनुपर्छ नै त्यसमा पनि शिक्षा क्षेत्रको मानिस झन् इमान्दार हुनुपर्छ । त्यसकारणले म इमान्दार हुन्छु र आफूले अठोट गरेको काम पूरा गररै छाड्छु । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top