होमपेज / समाज
काठमाडौं । पानी पार्ने मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरिरहेकाले शनिबार बेलुकीदेखि तीन दिनसम्म देशभर वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार रातीदेखि यो रेखा नेपालको तराई नजिक आइपुग्ने सम्भावना देखिएको छ। यो रेखा नेपाल प्रवेश गरेपछि देशका अधिकांश स्थानमा पानी पर्छ। महाशाखाका अनुसार केही स्थानमा निकै ठूलो पानी पर्ने सम्भावना छ।
धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ। पानी पर्ने सम्भावना रहेकाले जलप्रकोपबाट जोगिनका लागि सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। दक्षिणतर्फ रहको मनसुनी न्यून चापीय रेखा प्रवेश गरेको क्षेत्रमा पानी पर्ने र यो अवस्था कायम रहिरहे लगातार झरी पर्नेछ। तर, यसपटक यो अवस्था धेरै दिनसम्म नलम्बिने मौसमविद्हरुले जानकारी दिएका छन्।
महाशाखाका अनुसार आज बिहानैदेखि प्रदेश २ र ५ का केही स्थानमा आंशिक बदली देखिएको छ। देशका अन्य भागमा पनि सामान्यदेखि पूर्ण बदली भइरहेको छ। महाशाखाले आज बिहान जारी गरेको सूचनाअनुसार अहिले बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ। भारी वर्षाको सम्भावना रहेकाले आज प्रदेश १, २, बागमती, गण्डकी, र सुदूरपश्चिमका केही स्थानका नदीहरुमा पानीको बहाव बढ्नसक्ने महाशाखाले जानकारी दिएको छ।