होमपेज / समाज
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेज बिक्रम बस्नेतको अध्यक्षतामा सामाजिक कार्य शिक्षण समितिको बैठक शुक्रबार बसेको छ ।
बैठकले लकडाउनको समयमा अध्ययन अध्यापन कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गरेको छ । छलफलका क्रममा विभागलाई आत्मनिर्भर बनाउनुका साथै थप आम्दानीका स्रोतहरु जुटाउने सम्बन्धमा समेत छलफल भएको छ । यसैगरी पाठ्यक्रमलाई समयानुकूल बनाउन परिमार्जन गर्ने र स्नातकोत्तर तहमा भर्चुअल (दुर शिक्षा) माध्यमबाट पठनपाठन हुने गरी नयाँ भर्ना लिने सम्बन्धमा समेत छलफल भएको क्याम्पस प्रशासनले जनाएको छ ।
यसैगरी बैठकले अनलाइन अध्ययन र अध्यापनको व्यवस्थीकरण, फिल्ड कार्यलाई कोभिड १९ का विषय वस्तुसँग जोडेर गराउने र मिडटर्म परीक्षा सम्बन्धमा समेत छलफल गरेको जनाएको छ ।
पछिल्लो समय कोरोना भाइरसका कारण विश्वविद्यालयको अध्ययन अध्यापन कार्य अव्यवस्थित भइरहेका वेला क्याम्पस प्रशासनले अध्ययन अध्यापन लगायत अन्य विश्वविद्यालयका गतिविधिलाई नियमित बनाउने सन्दर्भमा विभिन्न शिक्षण समिति र सरोकारवालाहरुसँगको बैठक र छलफललाई नियमित गरिरहेको क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले जानकारी दिनुभयो ।
पढाइ सक्दै बिरुवा रोप्दै विद्यार्थी

मानविकी र सामाजिक शास्त्रका विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेसँगै विश्वविद्यालयमा बिरुवा रोप्ने अभियानलाई अगाडि बढाएका छन् । यसै सन्दर्भमा शुक्रबार स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ग्रामिण विकासका विद्यार्थी दीपक चालिसे र भवानी घिमिरेले विश्वविद्यालय परिसरमा रुद्राक्ष र एपोगार्डका बिरुवा रोप्दै ‘एक विद्यार्थी एक बिरुवा रोपौं’ अभियानको शुरुवात गरेका हुन् ।
क्याम्पस प्रशासन र विद्यार्थीको सिर्जनशील यस कार्यले मानविकी र सामाजिक शास्त्र अध्ययन गर्ने विद्यार्थी सहजै सामाजिक कार्यमा संलग्न हुन्छन् भन्ने कुरा पनि देखाएको छ । मानव र समाजलाई बुझ्नु नै वास्तविक जीवन बुझ्नु हो भन्दै क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले मानविकी र सामाजिक शास्त्रका विद्यार्थीलाई अध्ययन अध्यापनसँगै सामाजिक जीवनका कार्यमा संलग्न गराउँदै जीवन र जगतलाई बुझ्ने विद्यार्थी उत्पादन गर्नेतर्फ जोड दिइएको बताउनुभयो ।