होमपेज / समाज
साबित्री गिरी, बाँके । ‘भ्रष्टाचार विरुद्ध युवा’ विषयक राष्ट्रव्यापी निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बास केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको हो । बास केन्द्रीय कार्यालय नेपालगन्जले आयोजना गरेको प्रतियोगितामा विजयी हुने प्रतियोगिहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतियोगिताका विजेताहरु बाँकेका निर्मल भुषाल प्रथम, बर्दियाकी सावित्री गिरी द्वितीय, बाँकेका सुशील बि.के तृतीय र अछामका महेन्द्रबहादुर बयक सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः १० हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापामगरले लकडाउनको समयमा युवाहरुलाई सिर्जनशील कार्यमा लाग्न बासले आयोजना गरेका कार्यक्रमले उत्प्रेरणा थपेको बताईन् । उनले देश परिवर्तनको मेरुदण्डको रुपमा रहेको युवा वर्गले भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित समाज परिवर्तनका लागि अग्रसर भएमा सुशासन कायम हुने विश्वास ब्यक्त गरिन् । उनले भ्रष्टाचार विरुद्ध युवाको भूमिकाका विषयमा लेखेका कुरालाई ब्यवहारमा लागू गर्न प्रतियोगिहरुलाई अनुरोध गरिन् ।
कार्यक्रममा बोल्दै बासकी पूर्ब अध्यक्ष सिता बोहराले अध्ययन र लेखनले ब्यक्तिलाई सफल बनाउने भन्दै लेखनलाई निरन्तरता दिन युवाहरुलाई अनुरोध गरिन् ।

कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्णायक तथा कार्यक्रमका अतिथि किरण आचार्यले भ्रष्टाचार विरुद्ध युवाहरुको भूमिकाका विषयमा लेखिएका निबन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिईन् । यसैगरी अर्का निर्णायक ईन्द्र भण्डारीले कुनै पनि प्रतियोगितामा सहभागिता जनाउँदा त्यसको विषयबस्तुका विषयमा गहन अध्ययनका साथ सहभागी भएमा त्यसको परिणाम सकारात्मक आउने बताए ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरु निर्मल भुषाल, सावित्री गिरी र सुशील बि.के.ले छोटो मन्तब्य व्यक्त गरेका थिए ।
बासका महासचिब शिवकुमार बर्माले सञ्चालन गरेको प्रतियोगितामा स्वागत मन्तब्य बासी केन्द्रीय सदस्य तथा प्रतियोगिताका संयोजक दिला शाहले गरेकी थिइन् । प्रतियोगिताका बारेमा जानकारी तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले युवालाई जागरुक बनाउन बासले रचनात्मक कार्य गरिरहेको जानकारी दिए ।
बासले आयोजना गरेको निबन्ध प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्ण हरी बास्कोटा, किरण आचार्य र ईन्द्र भण्डारीले गरेका थिए । प्रतियोगितामा देशभरीबाट २५ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।