ट्रेण्डिङ

होमपेज / समाज

‘योजनापूर्वक गीताको हत्या’

नेपालगाथा २०७७ श्रावण १४ गते बुधबार ०८:०३:४८ मा प्रकाशित

काठमाडाैं। तत्कालीन पुनरावेदन अदालत पाटनले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकाललाई ‘योजनापूर्वक हत्या’ गरेको फैसला गरेको थियो। पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई र लेखनाथ भट्टराईको संयुक्त इजलासले प्रमाणको आधारमा तत्कालकै आवेश नभई योजनाबद्ध तरिकाले हत्या गरेको भेटिएको ठहर गरेको थियो। पुनरावेदन अदालतले श्रीमान्–श्रीमतीबीच लामो वैमनस्य रहेको समेत २०७२ मंसिर २३ मा ठहर गरेको थियो।

सर्वोच्च अदालतले आवेशप्रेरित (तत्कालै रिस उठेर मारिएको) भनेर सजाय घटाएपछि यो मुद्दा विवादित बन्यो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ११ वर्ष सजाय घटाएपछि रञ्जन साउन ८ मा डिल्लीबजार जेलबाट छुटिसकेका छन्। यद्यपि सर्वोच्चमा पुनरवलोकनको अनुमति पाएपछि मुद्दा फेरि ब्युँतिएको छ।

मारेको सबै प्रमाण भेटिएपछि दोषी ठहरिएका रञ्जनले अदालतसामु आफूले ‘हत्या नगरेको’ इन्कारी बयान दिएका थिए। हत्या हुनुअघि गीताले आफ्नो ज्यान जोखिममा परेको माइतीलाई जानकारी गराएकी थिइन्। २०६७ माघ ९ मा उनीमाथि भएको कुटपिटको घाउ जाँच गराइएको थियो। श्रीमान्ले आफूलाई कुट्ने तथा यातना दिने गरेको बेहोरा उल्लेख गर्दै गीताले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा मसेत उजुरी दिएकी थिइन्। रञ्जनले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा र गीताले मानाचामल मुद्दासमेत दर्ता गरेका थिए। गीताका उजुरीलाई बेवास्ता गरिँदा उनको ज्यान गएको थियो।

गीतालाई २०६७ पुस ७ मा रञ्जनले कुटपिट गरेका थिए। कुटिएको ११ दिनपछि २०६७ पुस १८ मा गीताले उजुरी दिएकी थिइन्। उजुरीमा ‘तँलाई बेपत्ता पारिदिन्छु। म को हुँ चिनेकी छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी कुटपिटसमेत गरेको’ उल्लेख छ। नागरिक दैनिकबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top