होमपेज / समाज
काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो भने निर्वाचनमा असफल भएमा सभापतिले पद छोड्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। 'कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताको प्रयास' विषयक अन्तर्क्रियामा बोल्दै थापाले पार्टी सभापतिले चुनावमा बहुमत नपाए २ वर्षमा छोड्न सकेमात्र पार्टी सफल हुने बताए।
‘आफूले भोट हाल्ने सभापतिलाई यति लेखाउन सक्यो भने हामी सफल हुन्छौ,’ थापले भने, ‘हाम्रो परीक्षण हुने पनि आम निर्वाचनमा हो। यदि उसको नेतृत्व असफल हुन्छ भने आधा समयमा छोड्ने कुरा हामीले सभापतिलाई गराउनु पर्छ।’ अहिलेको संरचनामा धेरै कुराकाे अपेक्षा गर्न नसकिने भन्दै थापाले आगामी दिनमा नयाँ रुपमा जान नयाँ सोच निकाल्नुपर्ने बताए। अहिले यस्तो संरचना छ यसबाट अरु कुराको अनुमान गर्न मिल्दैन भन्दै थापाले अब युवाहरुले सभापतिलाई यो सर्तमा लैजानुपर्ने बताए।
२०६० सालमा कांग्रेस सबैको भरोसाको केन्द्र भएको थापाले बताए। विचार र नेतृत्व ठीक भए भरोसाको केन्द्र हुन्छ भन्ने त्यो बेलामा कांग्रेसले देखाएको उनकाे भनाई छ। 'त्यो समयमा पार्टीको नेतृत्व र विचार एकढिक्का थियो, अनि हामी पहिलो पार्टीको रुपमा नेतृत्व गर्न सफल थियौ’, उनले भने। अहिले कांग्रेसको उभिने स्थान कहाँ हो? भन्नेमा प्रष्ट हुनुपर्ने उनले बताए।
उनले नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्धको परिभाषा के हो? भन्ने अब खोज्नुपर्ने अवस्था भएको बताए। अब कांग्रेस के हो? भन्ने कुराको पुर्नपरिभाषित गर्नुपर्ने भएको थापाले बताए। ‘सनातनदेखि चलि आएको धर्मको रक्षा कसरी गर्ने, जात र धर्मको नाममा हुने विभेदमा हामी कहाँ उभिने?’ उनले भने, ‘यति धेरै युवाहरु भएको देशमा अब कांग्रेसले उनीहरु केन्द्रित भएर नीति बनाउन पर्छ।’
युवाहरुले अहिले नेपालमा अवसर छ भन्ने कुरामा विश्वास गर्नै नसकेको अवस्थामा कांग्रेस कहाँ उभिने? भन्ने चिन्ता रहेको उनले बताए। ‘सभापतिको मत माग्न जाँदा यदि पहिलो पार्टी बनाउन सकिन्न भने पद छोड्छु भन्न किन सकिँदैन,’ उनले भने, ‘सभापतिले किन गुट बनाउने र अन्यले किन बनाउने भन्ने कुरा अब अन्त्य हुन पर्छ।’