होमपेज / समाज
सल्यान । राष्ट्रिय अनुसन्धान केन्द्र कपुरकोट सल्यानले बेसारको नयाँ जात पत्ता लगाएको छ। अदुवाबाली अनुसन्धान कार्यक्रमले दुई वर्ष लामो अनुसन्धानबाट दुई जात ‘कपुरकोट हलेदो १’ र ‘कपुरकोट हलेदो २’ पत्ता लगाएको हो। पत्ता लगाइएको बेसारका दुई जात राजपत्रमा समेत प्रकाशित भइसकेको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोटका प्रमुख डा.समिद अहमदले जानकारी दिए। पत्ता लगाइएको दुई जात नेपालको मध्यपहाडी क्षेत्रमा खेतीका लागि सिफारिस गरिएको उनको भनाई छ।
तराई र मध्य पहाडी भेगमा उत्पादन गर्न सकिने बेसार समुद्री सतहदेखि १ हजार ६०० मिटर उचाइको भूभागसम्म उत्पादन गर्न सकिने डा. समिदले बताए। उनले भने, ‘हामीले नयाँ जातको करिब २ हजार ३०० किलो बीउ उत्पादन गरेर नेपालका विभिन्न जिल्लामा पुर्याएका छौं।’ सिफारिस गरिएको कपुरकोट हलेदो १ को उत्पादन क्षमता २७ दशमलव ८३ मेट्रिकटन प्रतिहेक्टर रहेको छ भने बेसार बन्ने क्षमता १३ दशमलव ८ प्रतिशत रहेको उनको भनाई छ। धादिङ, अर्घाखाँची, दाङ र नुवाकोटमा रहेको कृषि ज्ञान केन्द्रलाई पनि बेसारको नयाँ जात उपलब्ध गराइएको अदुवाबाली अनुसन्धान कार्यक्रममा सूचना अधिकारी खेमराज शर्माले बताए।
चालु आर्थिक वर्षमा अन्य जिल्लामा पनि विस्तार गर्ने लक्ष्य रहेको उनको भनाई छ। सल्यानमा तीनवटा क्षेत्रलाई बेसार पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ। जिल्लाको शारदा नगरपालिकाको माल्नेटा, कालिकाटी गाउँपालिका र बागचौर नगरपालिकालाई बेसार पकेट क्षेत्रका रुपमा घोषणा गरी उत्पादन थालिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। जिल्लामा ३५० हेक्टर भन्दा बढी क्षेत्रफलमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले जानकारी दिए।