होमपेज / समाज
काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेकाे लकडाउन आजबाट अन्त्य भएको छ । साउन ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।
कोरोन भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सुरूमा ८ दिनका लागि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसयता भने सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै आएको थियो ।
मंगलबार सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार रातिदेखि लकडाउन अन्त्यको जानकारी दिनुभयाे । मन्त्रिपरिषद बैठकको निर्णय सुनाउनु हुँदै प्रवक्ता डा. युवराज खतिवडाले भन्नुभयो, ‘लक-डाउनले मनोवैज्ञानिक त्रास पनि दियो र धेरै कुराको बहानाबाजी पनि गर्ने ठाउँ दियो । यो भन्दैमा स्वास्थ्य सुरक्षा पनि कायम राख्नुपर्छ । आज राति १२ बजेबाट लक-डाउनको विधिवत अन्त्य भएको छ ।’
लकडाउन हटेपनि कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन सरकारले बताएको छ ।
के-के गर्न पाइन्छ ?
जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।
यातायातमा जोरबिजोर प्रणाली र सरकारी कार्यालयमा दुई सिफ्ट सेवा बुधबारबाट नहुने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।
यसैगरी जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।
भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने पाइने छ । तर शैक्षिक संस्था खुल्ने छैनन् ।
अन्तर्राष्ट्रिय सीमा भने ३२ साउनसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट ६ साउनको मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।
के-के पाइँदैन ?
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् । सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन ।
कोभिड–१९ को जोखिम अझै बाँकी रहेकाले सरकारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
सरकारले सबै प्रकारका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चालन गर्न पनि सुझाव दिएको छ ।