होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो । ‘उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,’ निर्देशक डा. खड्काले भने, ‘अब उनी सामान्य जीवनमा जान सक्छन् ।’
नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफुले सामान्य बनाएको बताए ।
‘मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,’नेता शाहीले भने, ‘ माया ममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।’ कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले भने, ‘आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । रोग त आफैँ च्वाट भयो ।’
नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे । सो अवधिमा आफ्नो स्वास्थ्यका बारेमा चिन्ता गर्ने तथा विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति उनले कृतज्ञता व्यक्त गरे ।