होमपेज / समाज
महोत्तरी । क्रसर उद्योगमा जथाभावी बनाइएका ठूलाठूला खाडल ज्यानमारा बन्दै गएका छन्। महोत्तरीको बर्दिवास-१४ मा आइतबार यस्तै खाडलमा परेर एक किशोरको मृत्यु भएको छ। बर्दिवास-१४ का अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय छोरा कन्हैया भनिने रोशन मिश्रको गहिरो खाडलको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो। दुई अन्य साथीसँग नुहाउन गएका मिश्र चिप्लिएर चिप्लिएर पानी भरिएको गहिरो खाडलमा डुबेका हुन्। उनलाई तत्काल उद्धार गरी बर्दिवास-१४ कै शुभस्वस्तिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरेर अन्तिम संस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। मिश्रसँगै नुहाउन गएका अन्य दुई किशोर भने सुरक्षित छन्। जथाभावी खाडल बनाउने क्रसर उद्यमीविरुद्ध कारवाही हुनुपर्ने मृतक किशोरका आफन्तले बताएका छन्। रातु नदीको नदीउकास क्षेत्रमा क्रसर उद्यमीले बनाएका ठूलाठूला खाडलमा परी बर्सेनि ज्यान जाने गरेको छ। यसअघि गत असारमा यस्तै खाडलमा परेर छिमेकको भङ्गाहा-४ मा र गत वर्ष बर्दिवास-९ पशुपतिनगरमा दुई जना किशोरको मृत्यु भएको थियो।
नदीउकास क्षेत्रमा जथाभावी उत्खनन गर्न दिन नहुने र तीन फिटभन्दा गहिरो खाडल खन्न नपाइने प्रावधान भए पनि यहाँ २५/३० फिट गहिरा खाडल खनेर नदीजन्य पदार्थ (बालुवा-ढुङ्गा) निकालिने गरिएको छ। हरेक वर्ष सम्बन्धित नियमन गर्ने निकायबाट निरीक्षण, अनुगमन हुने गरेपनि मापदण्ड नाघेर खाडल खनेबापत कुनै क्रसर उद्यमी कारवाहीमा नपरेको यहाँका सर्वसाधारणको गुनासो छ। रासस ।