ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयका रजिष्ट्रार कार्कीको विदाई तथा सम्मान

नेपालगाथा २०७७ श्रावण २ गते शुक्रबार १९:११:४६ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित्त रजिष्टार सहप्राध्यापक यामबहादुर कार्कीलाई विदाई तथा सम्मान गरिएको छ । रजिष्ट्रार पदको अवधि सकिएपछि शुक्रबार एक कार्यक्रमका बीच सम्मानसहित विदाई गरिएको हो ।  
विदाई कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले विश्वविद्यालय बनाउने सपना साकार पार्न आफु दिन रात लागि परेको बताउनुभयो । उक्त कार्यमा रजिष्ट्रार कार्कीले खुलेर सहयोग र समन्वय गरेको स्मरण गर्दै उपकुलपति प्राडा सिंहले सहप्राध्यापक कार्कीबाट धेरै कुराको अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समस्यामा नआत्तिने र खुसी हुँदा नमात्तिने उहाँको व्यवहार सबैले सिक्नुपर्छ ।’


अहिले जनतामा भएको विश्वविद्यालय प्रतिको अविश्वासलाई परिवर्तन गर्नु आवश्यक रहेको उहाँको भनाई थियो । विश्वविद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उहाँले कुनै राजनितिक पार्टी, जात धर्मको नाममा जनताको खुन र पसिना बगेर बनाएको विश्वविद्यालयलाई कुनै पनि हालतमा बिग्रन नदिने बताउनुभयो । 
‘जीवनभर बाचुञ्जेल काम गर्नुछ । त्यसैले कति बाचिन्छ भन्ने कुरा आफैबाट सम्झनुपर्छ र सही मार्गमा आजैबाट लाग्नुपर्छ ।’ उहाँले भन्नुभयो । 

कार्यक्रममा रजिष्ट्रार कार्कीले विश्विविद्यालय बनाउनका लागि व्यक्तिगत नाफालाई भन्दा पनि संस्थागत हितका लागि काम गरेको बताउनुभयो । विश्वविद्यालयलाई राष्ट्रिय मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा चिनाउनका लागि आफूले विश्वविद्यालयका हरेक गतिविधिलाई सकारात्मक तरिकाले अघि बढाएको बताउँदै सहप्राध्यापक कार्कीले विश्वविद्यालय बनाउन फेरि पनि आफ्नो क्षेत्रबाट सधै लागिपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top