होमपेज / समाज
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले साउन ४ देखि ७ गतेसम्म भारी वर्षा हुने जनाएको छ । त्यस अवधिमा नेपालमा विभिन्न भागमा मनसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।
यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन डा श्रेष्ठले अनुरोध गर्नुभएकाे छ। मुलुकको पूर्वी भागमा अली बढी मनसुन सक्रिय हुने र सुदूरपश्चिममा केही ठाउँमा भारी वर्षा हुने विभागले जनाएकाे छ ।
मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा अति भारी वर्ष हुनेछ ।
जसका कारण बाढी पहिरोको जोखिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।
ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ ।
प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यस्तो जोखिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
प्राधिकरणले मौसम र बाढीसम्बन्धी सूचनाहरू दैनिक बुलेटिन तथा वेबसाइटलगायत सम्बन्धित कार्यालय तथा प्राधिकरणको फेसबुक पेज, ट्वीटरमार्फत सार्वजनिक गर्ने हुनाले उक्त सूचनालाई विशेष ध्यान दिन भनिएको छ ।
आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बाढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अनुरोध गरिएको छ ।
बेलैमा सुरक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।
मुलुकमा गएको असार महिनामा मात्रै बाढी पहिरोमा परेर एक सयभन्दा बढीको ज्यान गुमाएका छन् भने ४५ बढी हराइरहेका छन् । गत असार २५ देखि २८ सम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता रहन सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि ठूलो जनधनको क्षति भयो । यो बीचमा विशेषगरी पहिरोले धेरै मानिसको ज्यान लिएको छ । हराइरहेको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुहाेस् प्रेस विज्ञप्ती
