होमपेज / समाज
पञ्चपुरी नगरपालिको बाबियाचौरलाई प्रशासनिक केन्द्र, साल्कोटलाई स्वास्थ्य केन्द्र र विद्यापुरलाई शैक्षिक हबका रुपमा विकास
सुर्खेत । सुर्खेत जिल्लाको पश्चिम पञ्चपुरी नगरपालिकाको वडा नं. ९ मा रहेको जनता माध्यमिक विद्यालय नमुना विकासका लागि छनौटमा परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सुर्खेतको पश्चिममा रहेको जनता माध्यमिक विद्यालय नमुना विकासका लागि छनौटमा परेको हो । यो विद्यालयसँगै सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका वडा नं. ६ मा रहेको जनज्योति मावि पनि नमुना विकासका लागि छनौटमा परेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानोठिमी भक्तपुरले नमुना विकासका लागि २०७६ असोज २६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आवेदनका लागि आह्वान गरेको थियो ।
विद्यापुरको जनता माध्यमिक विद्यालय नमुना विद्यालय रुपमा छनौटमा परेपछि यस क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
नवराज रावत, राज्य मन्त्री, स्वास्थ्य तथा जनसंख्या (सांसद, निर्वाचन क्षेत्र नं. २, सुर्खेत)

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का सांसद नवराज रावतले नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले विद्यापुरमा रहेका जनता माविलाई नमुना विद्यालयको रुपमा छनौट गरेर विद्यापुरलाई शैक्षिक हबका रुपमा विकास गर्न थप टेवा पुग्ने नेपालगाथालाई बताउनुभयाे ।
मन्त्री रावतले भन्नुभयो, ‘पञ्चपुरी नगरपालिकाको बाबियाचौरलाई प्रशासनिक केन्द्र, साल्कोटलाई स्वास्थ्य केन्द्र र विद्यापुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने मेरो योजनालाई अघि बढाउन सरकारकाे यो निर्णयले सहयाग गरेकाे छ। म याे कार्यमा सधै लागिरहेकाे छु ।’
शान्तिराज खराल, वडा अध्यक्ष, पञ्चपुरी नपा ९, विद्यापुर
.jpg)
वास्तवमा सुर्खेत जिल्लाको पुरानो विद्यालय मध्येको एक जनता माध्यमिक विद्यालय विभिन्न कारणले फड्को मार्न सकेको थिएन । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरिसके पछि अब यस विद्यालयले भौतिक तथा शैक्षिक गुणस्तरमा थप फड्को मार्न मद्दत पुग्नेछ । अब यसलाई कार्यान्वयन गर्नका लागि समेत सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।
वसन्त थापा, समाजसेवी

सबैका लागि शिक्षा होस् भनेर बुवा बाजेहरुले जसरी विद्यालय बनाउन जोड गर्नुभयो त्यसरी नै यसलाई हामीले निरन्तरता दिएका हौं । यस विद्यालयका शिक्षक, व्यवस्थापन समिति, स्थानीय वासिन्दाले देखाएको इमान्दारिताको कदर गर्दै नेपाल सरकारले समेत उचित सम्मान गरेको छ । सबैको सहयोग र साथ समर्थनले आज विद्यालयले प्रतिफल प्राप्त गरेको छ । सहयोगी हातहरु सबैलाई मेरो तर्फबाट धन्यवाद । याे अभियानमा हामी सबै निरन्तर लागिरहेका छाै फेरि पनि लागि रहन्छाै ।
हेमप्रकाश भुसाल, समाजसेवी

निकै दुःख कष्टका साथ स्थापना भएको विद्यापुरको विद्यालयमा म आफू पनि पढेको र पढाएको विद्यालय भएको हुनाले यसलाई अगाडि बढाउने धोको सधै रहिरहेकाे छ । सोही अनुसार हामीले पञ्चपुरी विद्यापुर शैक्षिक एवम् धार्मिक महायज्ञ लगाएर विद्यालयलाई आर्थिक र सामाजिक रुपमा थप सशक्त बनाउने काम गर्याै । यसले विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि आधार तयार गर्ने काम समेत गर्याे । अहिले नेपाल सरकारबाट नमुना विद्यालयका लागि छनौट भएको छ, निकै खुशी लागेको छ । नमुना विद्यालय बनाउनका लागि धेरै मानिसहरुको सहयोग छ सबैलाई धन्यवाद दिन चाहन्छु ।
मोतिराज जोशी, प्रधानाध्यापक

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्दले तोकेको निर्देशिका अनुसारका कामहरु इमान्दारिता साथ पालना गरेर शैक्षिक पूर्वाधारको उपयुक्त सुधार गर्दै जानु अबको हाम्रो पहिलो जिम्मेवारी हो । यसो गर्न सकियो भने शिक्षाको गुणस्तरमा विकास भई विद्यार्थीको चापमा समेत उल्लेख्य वृद्धि हुने मैले अपेक्षा लिएको छु । यस कार्यमा म र विद्यालयकाे मेराे टिम सधै लागि रहने छ । हामीलाई सधै साथ दिने विद्यालय व्यवस्थापन समितिसँगकाे हातेमालाेमा विद्यालयलाई थप उचाइमा पुर्याउन लागिरहने छाै ।
तपेन्द्र बिसी, पूर्व विद्यार्थी नेता

म आफू अध्ययन गरेको विद्यालयको प्रगति भएको देख्दा मलाई निकै खुशी लागेको छ । म यस विद्यालयको पूर्व विद्यार्थी नेता पनि भएको नाताले हर दृष्टिकोणबाट सहयोग गर्दै आएको छु । यो सहयोगलाई फेरि पनि निरन्तरता दिइरहेको छु । नेपाल सरकारले जनता माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट गरेर विद्यापुरमा रहेको क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी जनता माध्यमिक विद्यालयले नै उत्पादन गर्नेछ भन्ने मैले विश्वास लिएको छु । यसले गर्दा क्याम्पसका लागि चाहिने विद्यार्थी नजिकै रहेकाे नमुना विद्यालयबाट आउने भए पछि नमुना विद्यालय पनि राम्राेसँग सञ्चालन हुने र क्याम्पस पनि राम्राेसँग सञ्चालन हुने देखेकाे छु ।
(शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, नेता नरबहादुर बिष्ट, बिन्दमान बिष्ट, उपेन्द्र थापा, कृष्ण कंडेल, पूर्ण केसी, पंकज केसी, मानबहादुर रावल, देविराम भुसाल, डा. बुद्धि सापकोटा, नन्दा थापा लगायतका थुप्रै महानुभावहरुकाे सहयाेगका कारण जनता माध्यमिक विद्यालय नमुना विद्यालयका लागि छनाैट भएकाे स्थानीयहरुकाे ठहर छ । यस सन्दर्भमा सबै महानुभावहरु धन्यवादका पात्र हुनुहुन्छ । सम्पादक)
हेर्नुहाेस् नमुना विद्यालयकाे रुपमा छनाैटमा परेका विद्यालयकाे नामावली



