होमपेज / समाज
काठमाडौं । अवैधरुपमा कोरोना परीक्षण शुल्क असुल्ने नीजि अस्पताललाई छानबिन गर्न समिति गठन गरिएको छ । काठमाडौँ उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड(१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको हो ।
मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रालयले यी तीन अस्पतालले सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि सरकारी प्रयोगशालामा पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको गुनासो आएपछि छानबिन गर्न लागेको जनाएको छ ।
मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड(१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । उक्त समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन् ।