होमपेज / समाज
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना भाईरस नियन्त्रण गर्नका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई गरेको छ । सोमबार गाउँपालिकामा प्रदेश अस्पताल सुर्खेतबाट खटिएका डा. लोकराज कंडेल सहित सामाजिक विकास मन्त्रालयबाट आएका २ जना सामुदायिक स्टाफ नर्स र कोपिला भ्याली सुर्खेतबाट आएका एक जना नर्स र अनमीको बिदाई गरेको चौकुने स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेले जानकारी दिनुभयो ।
चौकुने गाउँपालिकामा हालसम्म कोरोना परिक्षण आरडिटिबाट २ हजार ८३ जना, पिसिआरबाट ३ सय ७६ जनाको परिक्षण गरिएको छ । ती मध्ये २५ जनालाई पिसिआर पोजेटिभ देखिएको थियो ।
पिसिआर पोजेटिभ देखिएकाहरुलाई १४ दिन सम्म आईसोलेशनमा राखि स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाले जानकारी दिएको छ । हाल चौकुनेको क्वारेन्टाइनमा जम्मा ४३ जना रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा अधिकृत डिल्लीराम घिमिरेले बताउनु भएको छ ।
बिदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले कोरोना भाइरस नियन्त्रण गर्न अहोरात्र खटिनु हुने स्वास्थ्यकर्मीहरुको उच्च प्रसंशा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरसले विश्व नै भयवित भएको अवस्थामा आफुहरुले निश्चित साधन स्रोतको सहयोगले भाईरसलाई कमजोर बनाएको दाबी गर्नुभयो ।

आजका दिन सम्म चौकुनेका केहि नागरिकहरुलाई भाईरस पोजेटिभ देखिए पनि सबैलाई सन्चो भएको उहाँको भनाई छ । साथै उहाँले आवश्यकता परेको समयमा गाउँपालिकाले पुन खबर गर्ने समेत बताउनुभयो ।
यसैगरी गाउँपालिका उपाध्यक्ष निर्मला मगरले सबैको सहयोगले चौकुनेमा अहिले सम्म कोरोना सामुदायिक स्तरमा फैलिन नपाएकोमा खुसी व्यक्त गर्नुभयो ।