ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका बालबालिकालाई झाडापखालाविरुद्धको ‘रोटा खोप’ दिइने 

नेपालगाथा २०७७ असार २७ गते शनिबार १८:३०:३७ मा प्रकाशित

हिमाल शर्मा, सल्यान । सल्यानमा पहिलो पटक बालबालिकाहरुलाई झाडापखाला बिरुद्धको रोटा खोप शुरु गरिने भएको छ । आउदो साउन महिनाको पहिलो साता देखी नै जिल्ला भरिका करिव ६ हजार बालबालिकाहरुलाई रोटा खोप शुरु गरिने भएको हो । बच्चा जन्मेको ६ हप्तामा पहिलो मात्रा र १० हप्तामा दोस्रो मात्रा गरी दुइ पटक खोप दिन लागिएको हो ।

जसको लागी अहिले जिल्ला भर तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लास्तरमा सबै पालिकाहरुको सहभागितामा यस बारेमा समन्वयात्मक छलफल तथा अभिमुखिकरण गरिएको छ भने सबै स्थानिय तहमा रहेका स्वास्थ्य शाखाहरुले पनि पालिकास्तरमा अभिमुखिकरणको कार्य गरिरहेका छन् ।

बालबालिकाहरुमा झाडापखाला बिरुद्ध लड्न सक्ने क्षमताको बृद्धि गर्न रोटा खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो ।

उहाँले निरोगी र सक्षम व्यक्ति बनाउन गर्भ देखी नै खोप अभियानमा ध्यान दिनुपर्ने बताउनुभएकोे छ । विभिन्न रोग बिरुद्ध लगाईने खोपलाई अनिवार्य बनाउन सके मात्रै बालबालिका निरोगी र सक्षम नागरिक बन्ने उहाँको भनाई छ ।

उहाँले खोपकै भरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुने भन्दै अभिभाबक र स्वास्थ्यकर्मीको समान दायित्व हुने भएको छ । ‘नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ’ उहाँले भन्नुभयो ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ ।

जिल्लामा यसलाई सफल बनाउन तयारी भैरहेको छ, साउन देखी रोटा खोप शुरु हुन्छ ।’ केन्द्रिय तथ्यांक अनुसार हरेक वर्ष ५ वर्ष मुनीका करिब १२ लाख बालबालिका झाडापखालाबाट प्रभावित हुने गरेका छन् ।

यसमध्ये ४ लाख रोटा भाइरसकै कारणले प्रभावित हुने गर्दछन् । रोटा भाइरसले बालबालिकाको आन्द्रामा संक्रमण गराएर पखाला र वान्ता हुँदा जलवियोजन भएर बालबालिकाको मृत्यु हुने गरेको पाइन्छ । रोटा भाइरस विरुद्धको खोप लगाएपछि यसबाट हुने मृत्यूदरमा कमी आउने सरकारी लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top