ट्रेण्डिङ

होमपेज / समाज

हुम्लामा छायाँकन गरिएको ‘सहायक श्रीमान’ रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट

नेपालगाथा २०७७ असार २७ गते शनिबार १८:२०:३७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ रसियाको अन्तराष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट ‘सहायक श्रीमान’ (को–हजबेन्ड) छनौट भएको हो ।
नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ गणेश पाण्डेद्वारा निर्देशित गरिएको हो । यस अघि वृत्तचित्रले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म नेपालबाहिरको चलचित्र महोत्सवमा पहिलो पटक छनौट गरिएको हो । निर्देशक पाण्डेका अनुसार, कोरोनाका कारण बिभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका कारण ‘सहायक श्रीमान’ को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो ।

घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ ।

उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।

‘भाग्यले बाँचेकाहरु’ नामक डकुमेन्ट्री फिल्मबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top