होमपेज / समाज
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतलाई लिएर भारतीय सञ्चारमाध्यमले गरेको प्रचार भ्रामक र कपोललल्पित भएको नेपाल पत्रकार महासंघले बताएको छ ।
भारतको टेलिभिजन च्यानल जी टिभीले प्रधानमन्त्री ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि महासंघले आपत्ति जनाएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ । यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ । यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघ कडा शब्दमा भर्त्सना गर्छ ।’
महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।