होमपेज / समाज
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २३ गते बसेको बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने तथा अन्य जिल्लको हकमा जिल्ला बाहिर जान नपाउने निर्णय गरिएको बताए ।
‘काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटा जिल्ला मानेर सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको छ’, उनले भने, ‘उपत्यका बाहिर एउटा जिल्ला भित्र सवारी साधन चल्न दिइने निर्णय भएको छ ।’
५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने
साथै उनले सार्वजनिक यात्रु बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी खुलाउने निर्णय भएको बताए । ‘सार्वजनिक यात्रु बसमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्नुपर्नेछ । त्यसक्रममा बसको एक पंक्तिको एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्नेछ । यात्रु बोक्दा चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्नेछ’, उनले भने, ‘कोभिडको कानुनी व्यवस्था भएसम्म यात्रुसमेत अनिवार्य मास्क लाउनुपर्नेछ भने बसमा अनिवार्य सेनिटाइजर राख्नुपर्नेछ । बस चलाइसकेपछि हरेक दिन निसंक्रमणको विधि अपनाउनुपर्नेछ ।’
ट्याक्सी पनि खुल्यो
यस्तै सरकारले ट्याक्सी पनि खुलाउने निर्णय गरेको छ । मन्त्री खतिवडाले ट्याक्सी सञ्चालन गर्दा पनि स्वास्थ्य सुरक्षाका सबै विधि अपनाउनुपर्ने पनि सरकारले निर्णय गरेको जानकारी दिए ।