होमपेज / समाज
सिन्धुपाल्चोक । गए राती सिन्धुपाल्चोकमा भएको भीषण बाढीका कारण २ जनाको शव फेला परेको छ भने १८ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको उनको भनाई छ ।
बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।
उनका अनुसार २ जनाको शव भेटिएको र सात आठ जना हराइरहेको प्रारम्भिक जानकारी आएको छ । त्यस्तै, १५ देखि १६ घर बगाएको भन्ने जानकारी आए पनि यकिन भएको छैन ।