होमपेज / समाज
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २५ देखि २८ गते सम्म वर्षकै सबै भन्दा धेरै पानी पर्ने अनुमान गरेको छ । त्यसमा पनी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा सबै भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ ।
प्राधिकरणले पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ भने कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
शुक्रबार देखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको छ ।
प्राधिकरणका अनुसार ठूला नदी नालामा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ उपलब्ध हुने बताएको छ ।
