होमपेज / समाज
हिमाल शर्मा, सल्यान । चालु आर्थिक बर्षमा सल्यानमा सिंचाई तथा कृषि सडक निर्माणमा ७ करोड खर्च भएको छ । जिल्लाका दश वटै स्थानिय तहहरुमा कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि तथा सहज रुपमा बजार सम्म पु¥याउनको लागि कृषि संरचना निर्माण कार्यको लागि उक्त रकम खर्च भएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।
चालु आर्थिक बर्षमा जिल्लामा सिँचाई र कृषि सडक निर्माणमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड ५ लाख खर्च भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभएको छ ।
जसबाट जिल्लाका दश वटै स्थानिय तहमा गरेर २५ वटा साना तथा मझौला सिँचाई कुलो र २४ वटा कृषि सडक निर्माण गरिएको छ । साना तथा मझौला सिँचाई कुलो निर्माणमा ४ करोड १५ लाख र कृषि सडक निर्माणमा २ करोड ९० लाख रुपैँया खर्च भएको उहाँको भनाई छ ।
त्रिबेणी गाउपालिकामा पर्ने लंके काँरेबास सिंचाई योजनाको काम भने हुन् नसकेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार सिँचाई तर्फ छत्रेश्वरी गाउपालिकामा ४ वटा योजनामा ६५ लाख, कालीमाटी गाउपालिकामा ४ वटामा ५५ लाख, त्रिबेणी गाउपालिकामा २ वटा योजनामा २५ लाख रुपैँया खर्च भएको छ ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा २ वटा योजनामा ६० लाख, दार्मा गाउपालिकामा २ वटामा ५० लाख, कुमाख गाउपालिकामा २ वटामा ३० लाख, सिद्धकुमाख गाउपालिकामा १ वटामा २० लाख, बागचौर नगरपालिकामा २ वटामा ३० लाख, शारदा नगरपालिकामा ३ वटामा ४० लाख र कपुरकोट गाउपालिकामा ३ वटा योजनामा ४० लाख रुपैँया खर्च भएको हो ।
यस्तै जिल्लामा २४ वटा कृषि सडक निर्माण भएका छन् । जसमा छत्रेश्वरी गाउँपालिकामा ४ वटा कृषि सडकमा ४० लाख, त्रिबेणी गाउँपालिकामा २ वटामा २० लाख, कालीमाटी गाउँपालिकामा एक वटामा १० लाख, बन्गाड कुपिण्डे नगरपालिकामा ३ वटामा ४० लाख र दार्मा गाउँपालिकामा २ वटामा ४५ लाख रुपैँया खर्च भएको छ । यस्तै कुमाख गाउँपालिकामा एक वटा योजनामा १० लाख, बागचौर नगरपालिकामा ४ वटामा ४० लाख, शारदा नगरपालिकामा ४ वटामा ४० लाख र कपुरकोट गाउँपालिकामा ३ वटा कृषि सडक निर्माणमा ३० लाख रुपैँया खर्च भएको छ ।
सिँचाई तथा सडक निर्माणमा कुल बजेटको १० प्रतिशत सम्बन्धित लाभग्राही क्षेत्रमा खर्च गनुपर्ने प्राबधान अनुसार स्थानियको मागको आधारमा बिउबिजन तथा कृषिजन्य औजार उपकरणहरु खरिद गरेर वितरण गरिएको कार्यालयको भनाई छ । जिल्लामा गत आर्थिक बर्षमा कृषि सडक निर्माणको लागी ३ करोड ४७ लाख ७८ हजार रुपैँया खर्च गरिएको थियो ।