होमपेज / समाज
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपाका नेता झलनाथ खनाल बिच भेटवार्ता भएको छ । मंगलबार बिहान खनाल निवास डल्लु पुगेकी राजदूत होउले नेता खनाललाई भेटेकी हुन । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।
कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ । नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यस अघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।
नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् ।
नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किरहेको छ ।