होमपेज / समाज
काठमाडौं । शनिबार दुई जना थपिए संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज (शनिबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो ।
उनी मधुमेहका दीर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।
क्षयरोगका बिरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । शनिबार नेपालमा २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।