ट्रेण्डिङ

होमपेज / समाज

जहाँ ज्वाइँलाई २१ वटा विषालु सर्प दाइजो दिइन्छ 

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १३:०४:३६ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प दिइन्छ ।

गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

गौरिया समुदायका मानिसहरु आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् । दाइजोमा दिइने सर्पहरुमा विभिन्न खतरनाक प्रजातिका विषालु सर्पहरुसमेत हुन्छन् ।

सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरूसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरूलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

छोरीको बिहेमा धन सम्पत्तिको साटो सर्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । नयाँ ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर सर्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।

आफ्नो जीविकोपार्जनको आधारको रुपमा रहेको सर्पसँग यो समुदायको विशेष तथा आत्मीय नाता छ । उनीहरु सर्पलाई निकै माया तथा सम्मान गर्दछन् ।

यदि आफूले पालेको सर्प म¥यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top