ट्रेण्डिङ

होमपेज / समाज

सुदूरपश्चिम सरकारले एक किलो सलह छोप्नेलाई २५ रुपैयाँ दिने

नेपालगाथा २०७७ असार १५ गते सोमबार १२:३३:२३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम सरकारले एक किलो सलह छोपेर ल्याउनेलाई २५ रुपैयाँ दिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले एक किलो सलह किरा ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको हो । 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो । मन्त्रालयले नेपालमा भित्रिएको सलह किराको प्रभाव कम गर्न यस्तो निर्णय गरेको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका बरिष्ठ बागवनी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए । शर्माले किरा संकलन गरि वडा कार्यालयमा ल्याउनेलाई तत्काल नगद दिइने बताए ।

लकडाउनमा घरमा बसेकालाई सलह किरा टिप्ने जाँगर चलोस्, हौसला बढोस् भन्ने उद्देश्यले प्रदेश नम्बर ५ भन्दा सुदूरपश्चिमले प्रतिकेजी ५ रुपैयाँ बढाएर २५ बनाएको शर्माले बताए । ‘यतिबेला विद्यार्थी सबैभन्दा बढी घरमै भएकाले उनीहरूलाई नास्ता खर्च निकाल्न जोस जाँगर बढाउन मूल्य निर्धारण गरेको हो,’ उनले भने ।

सलह  किरा माछाको लागि पौष्टिक आहार भएकाले किनेको सलह गेटास्थित माछा फर्मलाई दिने योजना छ । बढी भइहाले प्राइभेट कुखुरा फर्मलाई बिक्री गर्ने योजना प्रदेश सरकारले बनाएको शर्माले जानकारी दिए ।

सलह किरा सुदूरपश्चिम भित्रिन सक्ने भन्दै  सचिवको नेतृत्वको टास्क फोर्स टिमसमेत बनाइने उनले बताए । सुदूरपश्चिमका नौ जिल्लामा जिल्लास्तरको टिमसमेत बनाएर सलह र फौजीलगायतका किराको प्रकोपबारे व्यवस्थापनको तयारी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top