होमपेज / समाज
काठमाडौं । शनिबार सम्म मध्य–तराईका जिल्लाहरूबाट प्रवेश गरेको सलहको झुण्ड एकाएक गोरखाको बारपाकसम्म पुगेको छ । बारा, पर्सा, सर्लाही हुँदै तराईका विभिन्न जिल्लामा प्रवेश गरेको सलहको झुण्ड शनिबार दिनभरमै पूर्वको सर्लाहीदेखि पश्चिममा बुटवलसम्म फैलिएको थियो ।
सुलिकोट बारपाक गाउँपालिका ७ का वडाध्यक्ष कृष्ण गुरूङले गाउँपालिकामा सलह कीराको एक हुल देखिन आएको जानकारी दिएका छन् । सलह कीरा गाउँमा फैलिएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।
खेतबारीमा राखिएको धानको ब्याड र फल्नेरपाक्ने क्रममा रहेका तरकारी र मकै लगायत अन्नबाली जोगाउन मुस्किल पर्ने देखिएको उनीहरूले बताएका छन् । सलह नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले पाँच प्रकारका विषादी सिफारिस गरेको छ ।
मालाथियन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस र डेल्टामेथ्रीनको प्रयोग गरी सलह नियन्त्रण गर्न सकिने नार्क अन्तर्गत किट विज्ञान महाशाखाका प्रमुख डा. प्रेमनिधी शर्माले जानकारी दिएका छन् ।
यो कीरा आउन सक्ने सम्भावित क्षेत्रका किसानले कीरा आउनु अगाडि नै विषादी प्रयोग गरेको खण्डमा बाली जोगाउन सकिने जानकारी प्राप्त भएको छ । प्रतिलिटर पानीमा (छुट्टाछुट्टै) ३ मिलिलिटर मालाथियन, ल्याम्डा साइहेलोथ्रीन ०.७० मिलिलिटर, क्लोरपाइरिफोस १.८८ मिलिलिटर र डेल्टामेथ्रीन ०.७५ मिलिलिटर मिसाएर बालीमा छर्के सलहबाट हुने क्षति कम गर्न सकिने कृषिविज्ञहरूले जानकारी दिएका छन् ।
विषादी प्रयोग नगरेको खण्डमा खेतबारीमा गएर विभिन्न आवाज निकालेर त्यसलाई धपाउने र सानो क्षेत्रमा बोट विरुवा वा बाली लगाएको छ भने झुल वा जालीको प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।