ट्रेण्डिङ

होमपेज / समाज

'एक घर, दुई बिरुवा, हामी आफैं कुरुवा'

वीरेन्द्रनगर नगरपालिकाकाे आव ०७७/७८ का लागि करिब एक अर्ब ४३ करोड बजेट

नेपालगाथा २०७७ असार ११ गते बिहीबार ०९:२७:०८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले साताै नगरसभाबाट वीरेन्द्रनगरलाई हरित नगरका रुपमा विकास गर्न 'एक घर, दुई बिरुवा, हामी आफैं कुरुवा' लाई अघि सारेकाे छ । बुधबार सातौं नगरसभामा कार्यबाहक नगर प्रमुख उपमेयर मोहनमाया ढकालले उक्त कुरा उल्लेख गर्दै आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँको बजेट पेस गर्नुभयाे ।

प्रस्तुत बजेटमा चालु खर्च ९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगततर्फ ५१ करोड ६७ लाख ९८ हजार ४२३ रुपैयाँ रहेको छ भने वित्तीय व्यवस्थातर्फ ८२ लाख ८० हजार विनियोजन गरिएको छ ।

नगर कार्यपालिकाको कार्यालय र वडा गरी आर्थिक विकासमा चार करोड ३६ लाख १० हजार, सामाजिक विकासमा १२ करोड ३० लाख ३१ हजार, पूर्वाधार विकासमा १४ करोड २९ लाख ४५ हजार ९४९, वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ३१ लाख ७५ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ६ करोड १२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’

आगामी आर्थिक वर्षमा खेतीयोग्य जग्गा बाँझो रहन नदिन ‘जमिन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऊँ’ लाई जाेड दिइएकाे छ । त्यसका लागि गह्रा सुधार तथा चक्लाबन्दी गरी खेती कार्यका लागि विशेष प्रोत्साहन गरिने जनाइएकाे छ।

काँक्रेविहारलाई चिडियाखाना

कार्यबाहक नगर प्रमुख ढकालले पेस गरेको बजेटमा काँक्रेबिहारलाई चिडियाखानाको रुपमा विकास गरिने छ । नगरका अन्य पर्यटकीयस्थलहरु काँक्रेविहार, देउतीबज्यै, बुलबुले, घण्टाघर र गढी जस्ता दर्शनीयस्थलहरुमा वातावरणमैत्री पार्क निर्माण गर्न समेत बजेट विनियोजन गरिएकाे छ ।

हरित नगरका रुपमा विकास

वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न एक घर, दुई बिरुवा, हामी आफैं कुरुवा कार्यक्रमलाई निरन्तरता दिइएकाे छ । हरित नगरपालिकाका लागि सौर्य ऊर्जा र बायो ग्याँस विस्तारमा समेत विशेष जोड दिइएकाे छ । सडक बत्तीलगायत सहरी सौन्दर्य एवं ट्राफिक व्यवस्थापनमा विशेष प्रथामिकता दिइएको कार्यबाहक नगर प्रमुख ढकालको भनाइ छ ।

‘सुरक्षित म र मेरो समुदाय विशेष अभियान’

कोरोना भाइरसको संक्रमण जोखिम रोक्न ‘सुरक्षित म र मेरो समुदाय विशेष अभियान’ लाई सञ्चालनमा ल्याइनेछ । यसका साथै शुन्य फोहोर उन्मुख नीति लागु गरिने, उपत्यकाभित्र कम्तीमा पाँचवटा सार्वजनिक शौचालय संचालन गर्ने, गुरुयोजना बमोजिम ल्याण्डफिल साइट निर्माण गर्न पनि बजेट विनियोजन भएको छ ।

कोरोना संक्रमण रोकथाम र उपचारका लागि पाँच करोड

हाल देखिएको कोरोना संक्रमण रोकथाम र उपचारका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि शंङ्कास्पद व्यक्तिलाई कन्ट्रयाट ट्रेसिङ गरी व्यापक परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राखी उपचार गर्नुका साथै १०० बेडको आइसोलेसन केन्द्र निर्माण गरिने नगरपालिकाले जनाएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने छ ।

बजेटको स्रोत

वीरेन्द्रनगर नगरपालिकाले पेस गरेको बजेटकाे स्राेत मध्ये वित्तीय समानीकरण तर्फ २३ करोड ६५ लाख, राजस्व बाँडफाँटबाट १५ करोड २७ लाख ४ हजार, विशेष अनुदान ६० लाख, वित्तीय समानीकरण प्रदेश १ करोड १९ लाख ६७ हजार, सवारी साधन राजश्व बाँडफाँट प्रदेशबाट ३० लाख, सामाजिक सुरक्षा (अनुमान ) २० करोड ४२ लाख ७८ हजार ४ सय रहेको छ ।

यस्तै, सशर्त अनुदान संघबाट ४५ करोड १९ लाख, आन्तरिक आय १२ करोड १४ लाख, गत वर्षको मौज्दात (क्रमागत योजना) १४ करोड, ७६ लाख ५१ हजार र आन्तरिकतर्फ ९० करोड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top