होमपेज / समाज
सुर्खेत । रुकुम पश्चिमको चौरजहारीमा गएको जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । रुकुम पश्चिम जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता विनोद पौडेलले केही समय अघि मात्र दुवै पक्षको बहस सकिएको जानकारी दिएका छन् ।
उनका अनुसार पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जनाले बहस गरेका छन् । थुनछेक बहस शुक्रबारदेखि सुरु भएको थियो । सोमबारसम्म पिडितका कानुन व्यवशायीले बहस गरेका थिए ।
न्यायाधिशले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने र साधारण तारेखमा छाड्नेमध्ये आदेश गर्न सक्नेछन् । सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध कर्तव्य ज्यान लगायत मुद्धामा अभियोग पत्र दर्ता गरेको छ । प्रतिवादीमध्ये २९ जना पक्राउ परेका थिए भने पाँच जना फरार छन् । न्यायाधीशले बुधबार साँझसम्म थुनछेक आदेश गर्न सक्ने सम्भावना छ ।
जेठ १० गते चौरजहारी नगरपालिका ८ सोतीमा प्रेमिका लिन जाजरकोटको भेरी नगरपालिकाबाट गएका नवराज बिक सहितका १९ युवाहरुलाई गाउँहरुले लखेटेका थिए । सोहि झडपमा नवराज सहित ६ जनाको शव भेरी नदिमा भेटिएको थियो ।