ट्रेण्डिङ

होमपेज / समाज

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण दिँदै

नेपालगाथा २०७७ असार १० गते बुधबार १७:०७:२१ मा प्रकाशित

काठमाडौं । विश्व बंैकले नेपाललाई १२ अर्ब अर्थात १० करोड अमेरिकी डलर ऋण दिने भएको छ । बुधबार अर्थ मन्त्रालयमा विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

विश्व बैंकले यस अघि गत २१ जेठमा कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्युत क्षेत्रको सुधारका लागि १० करोड अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकृत गरेको थियो । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।

विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हदद जर्भोसले संकटअघि र पछि समेत निरन्तर लाभ प्राप्त गर्न विद्युत क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने बताए । भरपर्दो, किफायती र दिगो विद्यूतीकरण सम्बन्धी नेपाल सरकारको प्रतिवद्धतालाई विश्व बैंकले सहयोग गरेको उनले बताए । 

नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गरेको छ । विद्यूत क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।

नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा सचिव ढुंगानाले विश्व बैंकलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top