होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूष रहेका छन् । उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।
‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले भने, ‘पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं, सोमबार मृत्यु भएको हो ।’
डाक्टर पौडेलका अनुसार उनको सुर्खेतमै अन्त्येष्टि गर्ने तयारी भएको छ। नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेको उनले बताए । मृतकका श्रीमती उनीसँगै अस्पताल आएकी थिइन् । श्रीमतीलाई भने कोरोना नेगेटिभ देखिएको डाक्टर पौडेलले जानकारी दिए ।