ट्रेण्डिङ

होमपेज / समाज

आफ्नो सुझावको मजाक  नउडाइयोस् – प्रधानमन्त्री

नेपालगाथा २०७७ असार ७ गते आइतबार १२:२२:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सुझाव सल्लाहलाई मजाक नउडाउन आग्रह गरेका छन् । आफुले शरीरको प्रतिरोधी क्षमता बढाउन गरेको आग्रहलाई मजाकमा नउडाउन प्रधानमन्त्रीले आग्रह गरेका हुन । 

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे ।

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारीको प्रभाव भइरहेका बेला प्रधानमन्त्री ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन त्यस्ता वस्तुको प्रयोग बढाउन आग्रह गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊँ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’ 

नेपाल योगको जननी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसै हिमवत्खण्डबाट सङ्गीत, नृत्य, योग र आयुर्वेदसहित असाधारण ज्ञान, अभ्यास र अनुसन्धान अगाडि बढेको उल्लेख गर्दै गरे । प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए । ‘व्यायाम, प्रणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिको सर्वोपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ । मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।’ 

प्रधानमन्त्री ओलीले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्छ बदल्न सकिन्छ पनि बताए । उनले भने, ‘समृद्धिका गन्तव्यमा पुग्ने आधारसहितको सङ्कल्प हामीसँग छ । यसका लागि स्वास्थ्य अनिवार्य पूर्वशर्त हो, त्यसैले निरोगी नेपालको अभियान सञ्चालन गर्ने भनेका छौँ । आहार, व्यायाम र आरामको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले योग र आयुर्वेदलाई अगाडि बढाऔँ ।’ 
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top