ट्रेण्डिङ

होमपेज / समाज

पशुपालक किसानले पाटन भरिभराउ, गाउँ सुनसान

नेपालगाथा २०७७ असार ७ गते आइतबार १०:५६:४९ मा प्रकाशित

जाजरकोट । कोरोना भाइरसको त्रास सँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक किसान पाटनमा गएका छन् । जेठ, असार देखि साउनसम्म स्थानीय जंगल बन्द हुने भएपछि किसानहरु पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका किसान डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन् ।

यहाँका कृषक पाटन गए सँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ । पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेका छन् ।

यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले बताइन् । उनले भनिन्, ‘पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ । त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन् ।’ गाई, भैँसी, बाख्रा, भेँडा, गोडा लगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने किसानहरु बताउँछन् । 

भैँसीले हिमालको दाप (घाँस) खाएर दूध समेत बढी दिने भएकाले घिउ बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घिउ अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताए । तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जंगलमा घाँस बढ्ने मौका पाउने गर्दछ । यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ । 

पाटनमा अर्गानिक आलु उत्पादन पशुचौपाय पालनसँगै यहाँका किसानले पाटनमा अर्गानिक आलु उत्पादन कार्यलाई समेत जोड दिएका छन् । वैशाखमा पाटनमा गई लगाएका आलु असार, साउनमा निकालिने गरिन्छ । गाउँमा लगाएको आलुभन्दा पाटनमा लगाएको आलु राम्रो भएको नलगाड नगरपालिका–६ का जयबहादुर रावलले बताए ।

बारेकोट गाउँपालिका–४ का चौथारी, गणेश, पुथा, राँगा, लाग्नालगायत दर्जन पाटनमा आलुखेती गरिन्छ । त्यस्तै नलगाड नगरपालिका–७ को थामा, ८ को मेघाचौर, वैइनेउरा, धुपागैरा, नौचारा, डोङ्खोला, मंसिरी, बुराउसे, फूलपारी, रामरालगायका ठाउँमा पशुपालनसँगै आलुखेती गरिन्छ ।

रासस 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top